पुराना चौतारी संरक्षण अभियान
१३ असार, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा रहेका पुराना चौतारी पुनःनिर्माण गरी संरक्षण अभियान थालिएको छ । यसै क्रममा वडा नं ७ स्थित बसपार्क नजिक मालपोत भवन अगाडि रहेको चौतारीलाई पुनःनिर्माण गर्न थालिएको हो । जीर्ण अवस्थामा पुगेको बेनिकै पुरानो मानिने उक्त चौतारीको मर्मत वडा नं ७ ले सुरु गरेको छ ।
बर र पिपलसहितको उक्त चौतारी संरक्षणका लागि वडाले रु एक लाख २७ हजार बजेट विनियोजन गरेको थियो । वडामा भएका सबै पुराना चौतारी संरक्षणका लागि जीर्ण अवस्थामा रहेको सो चौतारीको मर्मतकार्य सुरु गरिएको त्यहाँका वडाध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । चौतारीको एक छेउमा तीन वटा मठ निर्माण गरिने छ । भने अर्को छेउमा पिउने पानीका लागि सार्वजनिक धारासहित बगैँचा निर्माण गरिने उहाँको भनाइ छ ।
पर्यावरण र चौतारीमा फोहर नगरुन भनेर मठ निर्माण गर्न लागिएको वडाध्यक्ष श्रेष्ठल बताउनुभयोे । ढुङ्गाको पर्खाल लगाई ढुङ्गाकै छपनी विछ््याएर बस्नका लागि सहज र आकर्षक बनाउने गरी निर्माण थालिएको छ । चौतारी अपाङ्गमैत्री हुनेछ । ह्वील चियरको माध्यमबाट सिधैँ चौतारीमा गई विश्राम लिन मिल्ने गरेर बाटो निर्माण गर्न लागिएको छ ।
वडावाट विनियोजित रु आठ लाख बजेटबाट नगरपालिका अगाडि नाली निर्माण तथा सरसफाइ, मङ्गलाघाटमा नाली सरसफाइ, दोविल्लामा सडक ग्राभेललगायत काम पनि गरिएको छ । चौतारी पुनः निर्माणको कार्यपनि सोही बजेटबाट उपभोक्ता समितिमार्फत खर्च गरिएको छ । समयमै काम सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको टोल सुधार समितिका संयोजक तथा उपभोक्ता समितिका सदस्य रहमद खान बताउनुहुन्छ ।
बेनी बजारभित्र १७ चौतारी छन् । ती सबैको मर्मत तथा संरक्षणको कामलाई नगरपालिकाले निरन्तरता दिने नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष श्रेष्ठ जानकारी दिनुहुन्छ । बेनी बजारका कृष्णप्रसाद श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र मेजरमान श्रेष्ठका हजुरआमा चन कुमारी श्रेष्ठले करिव दुई सय वर्ष अगाडि सो चौतारी निर्माण गरेर बर र पिपल रोप्नुभएको बताइएको छ ।
चौतारी निर्माणका लागि उहाँका आफन्तबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने गरी छलफल अघि बढाइएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनपा– २ को खान्दुलामा खानी निकालेर त्यस क्षेत्रमा पखाल्ने गरेको इतिहास छ । त्यतिवेला खानी पखाल्ने चौतारी पनि भन्ने गरिएको त्यस चौतारीको ऐतिहासिक महत्व छ ।
निकै पुरानो बर र पिपलको रुख रहेको सो चौतारी मान्छेहरु बस्नै नमिल्ने अवस्थामा फोहोर गरिएको थियो । ढुङ्गाका पर्खाल पनि भत्किने अवस्थामा पुगेका थिए ।बेनी बजार र मङ्गलघाटको विचमा रहेको र मानिस आहोरदोहोर गरिरहने उक्त स्थानको चौतारी जिर्ण अवस्थामा रहेकामा बेनीका केही बासिन्दाले सामाजिक संजालबाट समेत पुन निर्माणका लागि ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित मिति : June 27, 2022 at 2:33 pm









