सामाजिक घटनाको मात्र समाचार बनाउन हुँदैनः नेतृ पाण्डे
१३ असार, काठमाडौँ । नेकपा एमालेकी स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले सामाजिक घटनाको मात्र समाचार बनाउन नहुने बताएकी छिन । रेडियो श्वेत शार्दूलले ‘आमसञ्चार, सामाजिक उत्तरदायित्व र जबजको दृष्टिकोण’ विषयमा सोमबार गरेको अन्तरक्रियामा बोल्दै डा पाण्डेले घटनासँगै कानुन र सामाजिक उत्तरदायित्व बहन हुने तरिकाले समाचार बनाउनुपर्नेमा जोड दिइन ।
उनले जबजले अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारलाई बोकेको पनि बताइन । मदन भण्डारी मेमोरियल कलेज अनामनगरमा आज जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको सन्दर्भमा भएको अन्तरक्रियामा त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका सह प्राध्यापक डा। कुन्दन अर्यालले मानव सञ्चार, रुसको आमसञ्चार, आजको आमसञ्चार, स्वतन्त्र आमसञ्चार, आमसञ्चार र समाजलगायत विषयमा प्रकाश पारे ।

उनले वर्ग, आइडोलोजि र आमसञ्चार माध्यमबिचको अन्तरसम्बन्धलाई केलाउन मार्क्सवादी दृष्टिकोणबाट आमसञ्चारको सैद्धान्तिक अध्ययन गर्न जरुरी रहेको बताए । डा अर्यालले आमसञ्चार र समाजबिचको अन्तरसम्बन्धको विश्लेषणका निम्तिमा मार्क्सका विचार, मिडियालाई विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सांस्कृतिक आयामको विस्तारलाई मार्क्सवादी अवधारणाले समेटेको बताए ।
त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका उप प्राध्यापक घमराज र्लुइँटेलले जबज र आमसञ्चार परिपूरक रहेको बताउँदै सामाजिक न्याय, सामाजिक उत्तरदायित्वप्रति पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने बताए । अन्तरक्रिया कार्यक्रमका संयोजक एवम् मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य अमरध्वज लामाले रेडियो श्वेत शार्दूलले हरेक महिना आमसञ्चारका विभिन्न विषयमा प्राज्ञिक बहस आयोजना गर्ने जानकारी दिए ।

प्रकाशित मिति : June 27, 2022 at 2:20 pm









