९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

गोदावरी नपाको दुई अर्ब ३७ करोड बजेट

११ असार, काठमाडाैं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजना गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै प्रशासनिक खर्च रु ३० करोड तथा शिक्षातर्फ रु पाँच करोड र स्वास्थ्यतर्फ रु तीन करोड विनियोजन गरिएको छ । कृषिमा रु एक करोड ५० लाख, विपद् व्यवस्थापनमा रु एक करोड ९० लाख विनियोजन गरिएको छ । मर्मत खर्च रु तीन करोड, टेक्निकल कलेज निर्माणमा रु चार करोड, ठेचो छम्पी खर्सी पुलका लागि रु चार करोड, खानेपानीमा रु चार करोड फोहर व्यवस्थापनका लागि रु दुई करोड, सम्पदा पोखरी संरक्षणमा रु तीन करोड बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा दीर्घकालीन सोचका रुपमा ‘कृषि पूर्वाधार र पर्यटकीय नगरी, समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ भन्ने नाराका साथ कृषि, पर्यटन सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको निर्माणसहित गोदावरी नगरलाई समृद्ध र उन्नत बनाउने दीर्घकालीन सोच रहेको छ ।

नगर उपप्रमुख अधिकारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्योगको एकीकृत विकास गर्दै समुन्नत र हरित सहरको निर्माण गरी सुखी÷खुसी नगरका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको नीति कार्यक्रमले कृषि क्षेत्र र पर्यटन क्षेत्रको विकास तथा विस्तार एवं व्यवसायीकरण गर्ने उद्देश्य लिइएको छ ।

विद्यालय शिक्षालाई अझ गुणस्तरीय र नतिजामुखी बनाउने, नगरपालिका क्षेत्रमा आधारभूत सहरी पूर्वाधार विकास गरी सम्मुन्नत नगरका रुपमा विकास गर्ने, नगरक्षेत्रमा आन्तरिक स्रोत, साधन, अवसर र क्षमताको उच्चतम् उपयोग गरी आर्थिक वृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रवद्र्धन गर्ने भनिएको छ ।

प्रकाशित मिति : June 25, 2022 at 5:35 pm