२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

महिनावारी शिक्षा कक्षा ४ देखि १२ सम्म

६ असार, काठमाडौं । महिनावारी शिक्षा सन्दर्भ सामग्री सार्वजनिक भएको छ । औपचारिक शिक्षामा प्रभावकारी रुपमा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी भएका तीनवटा किताब सार्वजनिक गरिएको हो ।

राष्ट्रिय महिनावारी सञ्जाल र ग्लोबल एक्सन नेपालको संयोजनामा सार्वजनिक गरिउको उक्त सन्दर्भ सामग्रीमा विद्यालय शिक्षामा महिनावारीलाई कसरी व्यवस्थापन गर्नेबारे उल्लेख गरिएको छ । उक्त सन्दर्भ सामग्रीमा कक्षा ४ देखि कक्षा १२ सम्मको औपचारिक शिक्षामा महिनावारी र त्यससँग सम्बन्धित विषयलाई समेट्नका लागि छुट्टाछुट्टै विषय समेएिको छ ।

उक्त सन्दर्भ सामग्रीबारे मन्तब्य राख्दै राष्ट्रिय योजना आयोकी सदस्य सनोनी प्रधान सिंहले प्रकाशनले नीति निर्माण तहमै सहयोग गरेको बताइन् । उनले छुट्टाछुट्टै संस्थाहरूले गरेको अध्ययनभन्दा सामुहिक अध्ययन नीति निर्माण तहमै प्रभावकारी भूमिका खेल्ने भन्दै प्रसंसा गरिन् । उनले भनिन्, “एक्लै अध्ययन गर्ने र जस लिने प्रवृत्ति छ । त्यसैमा टेकेर नीतिनिर्माण तहका मानिसले पनि काम गर्ने गरेको पाइन्छ । त्यसले सबैको कुरा समेट्न गाह्रो हुन्छ । अहिले अध्ययन पूर्ण छ । धेरै संस्थाको सहभागिता छ ।”

उक्त सामग्रीबाट पाठ्यक्रममा समेटिने पाठ्यक्रम विकास केन्द्रकी सुमन सिलवालले प्रतिबद्धता जनाइन् । कार्यक्रममा उपस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी रमा अर्यालले औपचारिक शिक्षामा महिनावारीको विषय समेट्नका लागि मन्त्रालयको प्रतिबद्ध रहेको बताइन् ।
यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मधुसुदन सुवेदीले अब विद्यालय र विश्वविद्यालयले नै समाजमा मर्यादित महिनावारीबारे अग्रसर हुनुपर्ने बेला भएको बताए ।

राजधानीमा सामोबार सम्पन्न सार्वजनिकीकरण कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय महिनावारी सञ्जालका तर्फबाट संयोजक गुणराज श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको सञ्चालन सन्तोष महर्जनले गरेका थिए । सन् २०१८ देखि चलेको उक्त परियोजनाको कार्यान्वयनमा ग्लोबल एक्सन नेपालले गरेको हो भने महिनावारीका क्षेत्रमा काम गर्ने ४० भन्दा बढी संस्थाले सहयोग गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १७:१०