२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

रौतामाईका स्मार्ट हाकिमको धन्दा, राजश्व छल्ने कमिसन कुम्ल्याउने !

६ असार, उदयपुर । पारदर्शिता र जवाफदेहिताको रटान दिँदै सामाजिक सञ्जालमा पोष्ट गरेर निकै चर्चा वटुलेका उदयपुरका एक प्रमुख प्रशासकिय अधिकृतले राजश्व छलेको तथ्य खुलेको छ । गाउँपालिकाको सर्वोच्च निकाय गाउँसभाको निर्णय विपरित रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत योगेन्द्रराज गुरुङ्गले पालिकाको ६८ हजार राजश्व ठगी गरेको तथ्य फेला परेको हो ।

गुरुङ्गले भेडाचराउने व्यवसायिका लागि प्रतिचरण क्षेत्र २० हजारका दरले राजश्व संकलन गर्ने नवौँ गाउँसभाको निर्णय विपरित प्रतिचरण १७ हजार छुट गरी ३ हजार कायम गरेको प्रमाण भेटिएको हो ।

उनले गाउँसभाको निर्णयलाई लत्याउँदै आफुखुशी ३ हजार कायम गरेपछि गाउँपालिका भित्र ठुलो हलचल भएको छ । स्रोतका अनुसार गुरुङ्गले विचको रकम कमिसन लिएर सिफारिस गरेका हुन । स्रोतले भन्यो, ‘स्थानीय सरकारको नीतिगत निर्णयलाई हाकीमले कमिशन लिएर निर्णयलाई धज्जि उडाउनु भयो ।’

उनले थपे, ‘स्थानीय सरकारको सर्वोच्च निकाय भनेको गाउँसभा नै हो, त्यो गाउँसभामा जनप्रतिनिधिले बनाएको ऐन, कानुन, कार्यविधी, निर्णयलाई प्रमुख प्रशासकिय अधिकृतले कार्यान्वयन गर्ने हो तर यहाँ त गाउँसभा भन्दा माथि हाकिम हो कि भन्ने देखियो ।’

‘गाउँसभा र कार्यपालिकाको निर्णयलाई लत्याउने जनप्रतिनिधि, हाकिम, कर्मचारी कसैलाई छुट छैन्, उनले भने, ‘यो सरासर गाउँपालिकाको आम्दानीको श्रोत समाप्त बनाउने खेल हो त्यसैले कार्वाहीको दायरमा ल्याउनुपर्छ ।’

गुरुङ्गले २०७८ पुस १२ गते ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका भेडा व्यापारी ढोलबहादुर गुरुङ्गलाई वडानं १,२,६,८ को क्षेत्रलाई गाउँसभाले तोकेभन्दा १७ हजार छुट गरी चरिचरणका लागि अनुमति दिएका थिए ।

गुरुङ्गले हस्ताक्षर गरी व्यापारीलाई चरिचरण अनुमति दिएको पत्रमा लेखिएको छ ‘गाउँपालिकाको पर्यटन र सरकारी जग्गा रहेको भित्र वृक्षारोपण गरिएको क्षेत्रमा हानी नोक्सानी नहुने गरी चरिचरण गराउन २०७८ चैत्र मसान्तसम्मका लागि अनुमति दिइएको छ ।

चार वटै वडा कार्यालयलाई बोधार्थ लेखि पठाइएको पत्रमा ‘आगामी दिनमा यस गाउँपालिका कार्यक्षेत्र भित्र रहेका व्यक्ति संघसंस्था र सरकारी कार्यालयको चरिचरणमा कुनै पनि अवरोध नगरिदिन हुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

सुशासन, पारदर्शिता र जवाफदेहिताको क्षेत्रमा सुँगा रटान दिई सबै कर्मचारी र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल फेसबुकमार्फत तर्साएका गुरुङ्ग आफैँ सानो रकममा चुकेपछि सर्वत्र आलोचना हुन थालेको हो ।

‘निर्णय कार्यान्वयन गर्दा पालिकालाई ८० हजार राजश्व संकलन हुने थियो, स्थानीय स्रोतले भन्यो, ‘तर त्यसो नगरी १२ हजारको विल काटियो, ६८ हजार गाउँपालिकाको आम्दानी मर्यो ।’

राजश्वछलीका बिषयमा गाउँपालिकाका तत्कालिन अध्यक्ष गजेन्द्रबहादुर खड्काले भेँडाबाख्रा चरिचरण क्षेत्रकालागि गाउँसभाले प्रतिचरण २० हजार दररेट कायम गरेको पुष्टि गरे ।

यधपि प्रमुख प्रशासकिय अधिकृतले राजश्व छलीगरेको बिषयमा भने जानकारी नभएको बताए । गुरुङ्गले गरेको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको छ । उजुरी उपर छानविन भईरहको जनाइएको छ ।

हिमाली क्षेत्रमा अत्याधिक चिसो बढेपछि उदयपुरको सामान्य चिसो हुने पहाडी क्षेत्रमा भेडा व्यापारीले गोठ नै ल्याई राख्ने गरेका छन् । ठुलो संख्यामा भेडा लिएर पहाडी भुभागमा आउने व्यापारीहरु झण्डै चार महिना जंगलमै गोठ बनाएर बस्ने गरेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १५:११