२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बलात्कारीलाई उन्मुक्ति दिन जिल्ला न्यायाधिवक्ताको सरूवा गरेकोमा सिजपको आपत्ति

३ असार, काठमाडाैँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालिका बलात्कारको मुद्दा कमजोर बनाएर पीडकलाई उन्मुक्ति दिन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरको सरूवा भएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार सिजपका अध्यक्ष राजेश शर्मा र महासचिव मिना शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै योघटना बालबालिकाको हक, हित र अधिकारको संरक्षण तथा सम्बर्धनका लागि नेपालले विश्वव्यापी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा जनाएको प्रतिबद्धता र सोही बमोजिमको संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थाको गम्भीर उल्लंघन भएको बताएका छन ।

विज्ञप्तिमा भनिएको छ, ‘कञ्चनपुरका सुशील चटौत विरुद्ध बालिका बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला सरकारी वकिल कार्यालय ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरको २०७९/०३/०२ गते महान्यायाधिवक्ताको कार्यालयले सरुवा गरेको विषयमा पछिल्लो समय सार्वजनिक भएका समाचारप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपालको संविधान तथा बालबालिका सम्बन्धी ऐन, २०७५, अपराध पीडित संरक्षण ऐन २०७५ लगायतका कानूनी दस्तावेजहरुले प्रत्येक बालबालिकालाई बालबालिकाविरुद्द हुने सबै खाले हिंसा र दुर्व्यवहारबाट संरक्षणको अधिकार सुनिश्चित गर्नुका साथै पीडित बालबालिकालाई राज्यबाट पीडित संरक्षणको समेत व्यवस्था गरेकोमा मुद्दा हेरिरहेकै अधिकारीको सरूवा गरिनु गलत भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै संविधान त महान्याधिवक्ताको कार्यालय र त्यस मातहतका सरकारी वकिलको कार्यालयले सरकारवादी मुद्दामा पीडितको पक्षबाट कानूनी प्रतिरक्षा गर्नुपर्ने दायित्व रहेको हुन्छ यद्यपि बलात्कार जस्ता जघन्य अपराधका अभियुक्तलाई जोगाउन महान्यायाधिवक्ताको कार्यालयबाट भएको यो कदम सबै दृष्टिकोणबाट बालबालिका हित विपरित रहेको हुँदा यस अभियान घोर भर्त्सना गर्दछ । यसका साथै अभियुक्तलाई कडा भन्दा कडा कारवाहीका साथै पीडित बालिकाको बालमैत्री न्यायको सुनिश्चितता, संरक्षण व्यवस्थापन तथा यस कार्यमा संलग्न सबैलाई कानूनी दायरमा ल्याउनका लागि सम्बद्द सबैमा हार्दिक अनुरोध गर्दछौ ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार १३:३५