१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्दैन : इन्द्रबहादुर बानियाँ

३१ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् ।

मंगलबार स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बागमती प्रदेशबाट निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै बानियाँले सहमति अनुसार मुख्यमन्त्री कांग्रेसलाई नछोडे पनि कांग्रेसले जबरजस्ती नगर्ने बताएका हुन् । ‘प्रदेश सरकारको बजेट भाषणपछि मुख्यमन्त्री कांग्रेसलाई दिने सहमति भएको छ’, बानियाँले भने ‘कांग्रेसलाई छोडेको खण्डमा ठिकै छ, नत्र कांग्रेसले जबरजस्ती गर्दैन ।’

अहिले बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे छन् । कार्यक्रममा बोल्दै बानियाँले पार्टी र पार्टीभित्रका व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोर्नुपरेको बताए । ‘पार्टी र व्यक्तिको चरित्र ठिक नभएका कारण एमालेले हार व्यहोरेको हो,’ उनले भने ‘कांग्रेसले नराम्रो काम गरेन, हल्लाको पछाडी जनता लाग्दैनन् भन्ने जनताले देखाइदिएका छन् ।’

पार्टीको सिद्धान्त, नीति र नेताको आदर्शले चुनाव जितिने बताउँदै बानियाँले धेरै तडक भडक गरेर भिड बोकेर हिँड्नु गलत भएको बताएका हुन् । उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन हुने बताएका छन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रतिनिधिहरूले जितेको ठाउँमा प्रदेशसभा र प्रतिनिधीसभामा जितेन भने अहिले जितेका जनप्रतिनिधिहरूप्रति प्रश्न खडा हुने बानियाँले बताए । अहिले जितेका जनप्रतिनिधिहरूलाई अबको ५ वर्षपछिको निर्वाचनमा आवश्यक परे अरुलाई अवसर दिन सक्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : June 14, 2022 at 4:01 pm