१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै

२७ जेठ, लमजुङ । दुई वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका-३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा बस्ने सपना अझै अधुरै छ । नयाँ घरमा सर्ने ठूलो सपना रहेको पहिरोपीडित विष्णुमाया अछामीले बताइन् । दुई वर्षको बर्खा टहरामै बितेको उनको गुनासो छ ।

पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् । २०७७ साउन ७ र ८ गते पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो ।

पहिरोले ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकैपटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देविथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो । पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । दुई वर्ष बित्न लाग्यो , तर पीडितको नयाँ घरमा बस्ने सपना भने पुरा भएन ।

परिहोमा परी घाइते भएकी सिर्जना गोतामेले आफूहरू दुई वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिरोले घर नै पुरियो बर्खा लाग्यो टहरामा कसरी बस्ने हो ।’ पहिरो पीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भई पुनर्निर्माण सुरु भएता पनि अझै घर नबन्दा पहिरोपीडित चिन्तामा छन् ।

पल्लोटारीका ५४ घर र अर्खलेबेंसीका २० घर चालु आर्थिक वर्षमा पुनर्निर्माण हुनेछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पहिरो पीडितसँग घर पुनर्निर्माणका लागि सम्झौता भई पुनर्निर्माण भइरहेको बताए । घर बनाउन लाभग्राहीले ४ लाख ५० हजार रुपैयाँका दरले पाउनेछन् । यसमा संघीय सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय सरकारको १० प्रतिशत लगानी हुनेछ ।

प्रकाशित मिति : June 10, 2022 at 5:26 pm