१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

टीकारामलाई शंकरको जवाफः आग्रहपूर्ण विचार प्रवाह नगरे पार्टीको भविष्यको चिन्ता गर्नुपर्दैन

२५ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले निकटकाै कानुन व्यवसायी एवं नेपाल वारका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईलाई आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताएका छन । बुधबार कान्तिपुर दैनिकमा ‘वामपन्थको उल्टो यात्रा र एमालेको भविष्य’ शीर्षकमा विचार प्रवाह गर्दै भट्टराईले एमालेको ओरालो यात्रा सुरू भएको त्यसलाई रोक्न नेतृत्व सच्चिनुपर्ने अाशय व्यक्त गरेका छन ।

भट्टराईले विचार मार्फत नै घनश्याम भुसालको कारबाही प्रकरण जोडेर त्यसमा एमाले अघि बढे सबैभन्दा महंगो पर्ने बताएका छन । उनले उल्लेख गरेका छन, ‘भुसाल प्रकरणको पटाक्षेपले पनि एमालेको भविष्यको संकेत गर्ने पक्का छ । वाम एकताको कुरा गरेबापत भुसाललाई कारबाही प्रारम्भ गरिएको हो भन्ने सन्देश दिन खोजिएको हो भने यो प्रकरण एमालेलाई निकै महँगो पर्ने देखिन्छ ।’

स्थानीय निर्वाचनमा एमालेको पराजय स्वीकार्न नेतृत्व तयार नदेखिएको भन्दै भट्टराईले अझै पनि आत्मरतिमै रमाएर बसेको अवस्थामा एमाले थप संकटमा पर्ने उल्लेख गरेका छन । उनले भनेका छन, ‘यो निर्वाचनको जनमतले एमालेलाई पूर्वानुमान अनुसार नै खुम्च्याइदिएको छ । तथ्यांकलाई आफ्नो अनुकूलतामा व्याख्या गरेर हाम्रो जनमत घटेको छैन भन्ने आत्मरतिमा रमाउनु एउटा कुरा हो, राजनीतिक यथार्थ अर्कै कुरा हो । एउटा सत्य अवश्य छ- जनमतका कारण होइन, विपक्षी गठबन्धनका कारण आफू खुम्चिनुपरेको एमालेको विश्लेषण दमदार छ । आफूलाई जेजसरी व्याख्या गरे पनि आजको एमाले भनेको ओरालो लाग्ने क्रमको एमाले नै हो । उसले यो तथ्य स्वीकार गर्न सक्यो भने भविष्यमा आफूलाई सुधार्ने अवसर अझै छ । यो तथ्यलाई स्वीकार गर्न नसक्दाको परिणाम पनि आँखैअगाडि छ । ’

भट्टराईको उक्त विचार एमालेकै नेता कार्यकर्ताले सेयर गरिरहेका छन । एमाले सचिव योगेश भट्टराईले उक्त विचारको लिंक सेयर गर्दै टीकारामजीलाई पढाैँ भनेर अपिल समेत गरेका छन । त्यसपछि सामाजिक सञ्जाल मार्फत एमाले महासचिव शंकर पोखरेलले पार्टीको मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो पार्टीको चिन्दा गर्नुपर्ने अवस्था नरहेको बताएका छन ।

महासचिव पोखरेलले भनेका छन, ‘नेकपा(एमाले)को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकतावद्ध बनाउने काममा इमान्दारीता पूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन ।मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा(एमाले) भित्रवाटै सम्भव छ ।’

प्रकाशित मिति : June 8, 2022 at 10:57 am