टेलिभिजनमा अध्यक्ष ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसालमाथि एमालेको स्पष्टिकरण
२१ जेठ, काठमाडौँ । दशौँ महाधिवेशनपछि एमालेका हाइप्रोफाइल नेतलाई पहिलो पटक स्पष्टिकरण सोध्ने निर्णय भएको छ । अध्यक्ष केपी शर्मा ओलीका बारेमा टेलिभिजन अन्तर्वार्तामा आलोचना गरेको भन्दै नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले स्थायी कमिटी सदस्य भुसाललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
भुसालले हिमालय टेलिभिजनको यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बाँनियासँग कुरा गर्दै एमालेको नेतृत्वको हिसाबमा स्थानीय निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मा लिँदै पदबाट राजनामा दिँदा राम्रो हुने सुझाव दिएका थिए । सोही विषयलाई लिएर अनुशासन आयोगको बुधबारको बैठकले भुसालसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको अध्यक्ष केशव बडालले दैनिकीलाई जानकारी दिए ।

अध्यक्ष बडालले यो एमालेको आन्तरिक विषय भएको बताए । उनले भने, ‘जुनसुकै पार्टीका नेताहरू पनि जिम्मेवार ढंगले काम गर्नुपर्छ उनीहरू पार्टीको बिधानपद्धतिप्रति प्रतिवद्ध हुनुपर्छ । कम्युनिष्ट पार्टीमामात्र होइन सबै पार्टीमा त्यस्तो हुन्छ । हाम्रो पार्टीका पनि एक जना स्थायी कमिटी सदस्यले हिमालय टेलिभिजनको यक्ष प्रश्न भन्ने कार्यक्रममा बसेर नेतृत्वको आलोचना गर्नुभएको छ । त्यस विषयमा हाम्रो ध्यानाकर्षण भएको हो ।’
अध्यक्ष बडालले आफ्ना असन्तुष्टि र नेतृत्वको आलोचना पार्टीका सम्बन्धित कमिटीमा जति पनि गर्न पाइने तर मिडिया खपतका लागि जे पनि भन्दै हिड्न नमिल्ने बताए । एमाले विभाजनअघि भुसाल १० बुँदे सहमतिका माध्यमबाट एमालेमै रहने निर्णयमा पुगेका थिए । उनी पार्टीको दशाैँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
भुसालले हिमालय टेलिभिजनमा दिएको अन्तर्वार्ता तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : June 4, 2022 at 8:34 pm









