२ असार २०८१, आईतवार | Mon Jun 17 2024

नेविसंघले पाँच महिनादेखि प्रहरीको संरक्षणमा त्रिविमा लगाएको ताल्चा क्रान्तिकारीले तोड्यो


१८ जेठ, काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले पाँच महिनादेखि प्रहरीको संरक्षणमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लगाएको ताल्चा नेपाल कम्प्युनिस्ट पार्टी क्रान्तिकारीले बुधबार तोडेको छ । कांग्रेसको निर्देशनमा नेविसंघले त्रिविको उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यकक्षको ढोकामा ताल्चा लगाएको थियो ।

उक्त ताल्चा खोल्न सहयोग गर्न प्रहरीप्रशासनसँग त्रिविले सहयोग मागे पनि गृह मन्त्रालयको निर्देशन भन्दै प्रहरीले त्रिवि परिसरमा प्रवेश नगर्ने जनाउँदै आएको थियो । बुधबार भने नेपाल कम्प्युनिस्ट पार्टी क्रान्तिकारीले एक विज्ञप्ति राखेर तीनै ताल्चा फोडेको छ ।

नेपाल कम्प्युनिस्ट पार्टी क्रान्तिकारीका मध्य केन्द्रीय कमाण्ड’ का इन्चार्ज सफलको नाममा जारी विज्ञप्तिमा विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउन ताल्चा लगाउने कार्य कोही कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामाना गर्न पनि पार्टी तयार रहेको चेतावनी समेत दिइएको छ ।

नेविसंघले कांग्रेसकै निर्देशनमा त्रिवि पदाधिकारी असफल बनाउने नाममा ताल्चा लगाउन लगाएको थियो । पछि ताल्चा लगाउने समूह र नेविसंघको संस्थापन समूहकोबीचमा विवाद सिर्जना जस्तो गरेर प्रहरी प्रशासनलाई त्रिवि परिसर नजान निर्देशन दिइएको थियो । प्रहरी अधिकारीले त्रिवि पदाधिकारीको अनुरोधमा गृहमन्त्रीको ठाडो निर्देशन छ हामी केही गर्न सक्दैनाैँ भन्दै उल्टै निराशा बनाउँदै आएका थिए ।

यस्तो छ विज्ञप्ति 

त्रिभुवन विश्वविद्यालय मा सत्तासिन पार्टी कै भातृ संगठनका केही गलत स्वार्थ र मनसाय बोकेका विद्यार्थीहरुको झुन्डले ताला लगाएर बिश्वबिधालय लाइ चार महिना भन्दा अघि देखि अनिर्णायकको बन्दी बनाइ रहदा मौन लाचार विभिन्न राजनीतिक दल तिनका भातृ संगठन, बुद्धिजीवी बर्ग, विश्वविद्यालय प्रशासन र सरकार प्रति हाम्रो जनप्रिय नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)को गम्भीर ध्यानाकर्षण भएको छ ।

विश्वविद्यालयको कुलपति सम्माननिय प्रधानमन्त्री हुँदै गर्दा सो बिश्वबिधालय महिनौदेखि ताला लागाइनु उपकुलपतिबाट समस्या समाधान प्रति कुनै चासो व्यक्त नगर्नु आफैमा लजास्पदको विषय हो। विभागीय प्रमुखदेखि पदाधिकारी नियुक्ति सम्म मौलाएको भ्रष्टाचार र दलीय भागबण्डाले विश्वविद्यालयलाई लामो समयदेखि धराशायी बनाइएको जनता समक्ष छर्लङ्ग देखिएकै छ ।

दलीय पहुँच र दबावको भरमा आंशिक र करार हुँदै खुला प्रतिस्पर्धाबिना नै स्थायी नियुक्ति दिने परिपाटी ले शिक्षाको गुणस्तर खस्किएर विश्वविद्यालय बन्द हुने अवस्था सृजना हुनुमा कतै प्राइभेट तर्फ हस्तान्तरण गर्न खोजिएको त होइन भन्ने चिन्ता पैदा भएको हो ।

२१ औं शताब्दीमा बन्द हडताल बाट भन्दा पनि बार्ता सम्बादको टेबल बाटै समस्याको हल खोजिनु पर्छ भन्ने हाम्रो गौरव शाली नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी )को ठम्माइ हो । चिन्तक, दार्शनिक, वैज्ञानिक, प्राध्यापक, आदि उत्पादन गर्नुपर्ने विश्वविद्यालयलाई अपराधीहरू जन्माउने थलोको रुपमा बिकास गर्न खोजेको प्रस्टै देखिन्छ गलत सोच र प्रवृत्तीले शैक्षिक क्षेत्रमा नेपाल पछि पर्ने निश्चित देखिन्छ।

विभिन्न बहाना स्वार्थमा लगाइएको ताला खोल्न जिम्मेवार पक्षलाई विभिन्न माध्यमबाट आग्रह गर्दा पनि कसैको ध्यान नपुगे पछि हामि ताला खोल्ने पक्ष्यमा पुगेका छौं । यो चेतावनी पनि हो । गरिब निमुखा जनताको छोराछोरीको भबिस्य माथी खेलबाड गर्नु आफैमा कति अनुचित होला आग्रह छ जुनसुकै तवर र सोच बाट तालालगाइएता पनि अब उप्रान्त वैज्ञानिक सोच र विवेक पुर्ण छलफल बाट सहज ढंगले पठन पाठन गर्ने, कामकाज व्यबस्थापन मिलाउन हुन र विश्वविद्यालयलाई कुनै बहानामा बन्दक नबनाउन विश्वविद्यालय र सरकार समक्ष हाम्रो महान तथा जनप्रिय नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) हार्दिक अपिल गर्दछौं ।

साथै केही समस्याहरु भए वार्ता संवादबाट समस्याको हल गर्न विश्वविद्यालय हार्दिक आग्रह गर्दै अबदेखि यस्ता गतिविधि गर्ने र अनैतिक हर्कत गरि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउने ताला लगाउने कार्य कोहि कसैले गरेमा कडा रुपमा जुनसुकै परिस्थितिको सामना गर्न पनि पार्टी तयार रहने कुरा पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउदछौँ। क सफल

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार १५:०१