८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कांग्रेसलाई बलियो बनाउन स्थानीय तहले राम्रो काम गर्नुपर्छ: नेता पौडेल

१७ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताउनका लागि स्थानीय तहले राम्रो काम गर्नुपर्ने बताएका छन ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) विद्यार्थी विभागले मंगलबार काठमाडाैँमा आयोजना गरेको ‘जनप्रतिनिधि सम्मान’ कार्यक्रममा उनले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीका रूपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताए ।

“स्थानीय तहको निर्वाचनमा पाएको मतबाट जनता कांग्रेसमा भोट हाल्न आतुर छन् भन्ने देखाएको छ, प्रदेश र सङ्घको निर्वाचन आउँदैछ, मतदातालाई कांग्रेसको पक्षमा आकर्षित गर्ने गरी काम गर्नुहोस्”, उनले भने । कांग्रेसले जनजीविकाको मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजालले आफू जनप्रतिनिधि भएकाले जनताको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य सविन तामाङ, कांग्रेस महाधिवेशन प्रतिनिधि सुशील भट्ट, तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटीलगायतले कांग्रेस आगामी निर्वाचनमा एकजुट भएर अगाडि बढे कांग्रेसलाई कुनै शक्तिले हराउन नसक्ने बताउनुभएको थियो ।

प्रकाशित मिति : May 31, 2022 at 9:04 pm