८ असार २०८३, सोमबार | Mon Jun 22 2026

अन्तर्घातको आरोपमा एमाले नगरकमिटीका सचिव बर्खास्त, थप कारबाहीका लागि सिफारिस

१५ जेठ, मन्थली । नेकपा एमाले मन्थली नगर कमिटीले सचिव राजु कार्कीलाई पदबाट बर्खास्त गरेको छ । पार्टी हित विपरितको आचरण देखाएको, स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नगर कमिटीको सचिवबाट कार्कीलाई बर्खास्त गरिएको जनाइएको छ ।

आफूले मन्थली नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षको टिकट नपाएपछि नेकपा एकिकृत समाजवादीका उम्मेदवार नबिन कार्कीलाई जिताउन लागेको र पार्टीले उम्मेदवार बनाएका गणेश कार्कीलाई चुनावमा हराउन खुलेयाम लागेर कम्युनिष्ट अनुशासन बाहिरको आचरण प्रदर्शन गरेपछि कारबाही गरिएको एमाले मन्थली नगर कमिटीले जनाएको छ ।

एमाले मन्थली नगरपालिका वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष तेज बहादुर कार्की, एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका गणेश कार्की र वडा सदस्यका उम्मेवारहरुका अनुसार वडाले तत्काल कारबाही गर्न माग गरे अनुसार नगर कमिटीको बैठक बसेर कार्कीलाई कारबाही गरिएको हो ।

वडा कमिटीले एमालेभित्र भविष्यमा समेत राजु कार्कीले जिम्मेवारी नपाउने गरी कारबाही गर्न माग गर्दै आएको छ । कार्कीकै कारण एमालेले अघि सारेका उम्मेदवारहरु झिनो मतान्तरले पराजित भएका थिए । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमाले मन्थली नगर कमिटीले जिल्ला कमिटीलाई विधान अनुसार सिफारिस गरेको छ ।

प्रकाशित मिति : May 29, 2022 at 1:28 pm