२७ बैशाख २०८१, बिहीबार | Thu May 9 2024

त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली टोलीको विदाइ, विश्वकप सम्भावनालाई कायम राख्न चाहेको सन्दिपको भनाइ


१४ जेठ, काठमाडाैँ । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले बिदाइ गरे । विदाई कार्यक्रममा खेलकुदमन्त्री गहतराजले खेलाडीलाई दबाबविहिन भएर खेल्न आग्रह गरे । उनले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भएकाले क्यानको निर्णयलाई सवैले स्वीकार गर्नुपर्ने धारणा राखे । पछिल्लो पटक क्रिकेटमा देखिएको विवादलाई आफुहरु नै मिलेर समाधान गर्ने र त्यसमा खेलाडीले ध्यान नदिन उहाले आग्रह गरे ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लिग–२ मा अझै धेरै खेल खेल्न बाँकी रहेकाले धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहेको बताए । उनले नेपाली टीम निकै सन्तुलित रहेको र उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गरे ।

त्यस्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेको र राम्रो नतिजा आउने विश्वास व्यक्त गरे । अहिलेको टीम पनि निकै राम्रो बनेको उनको भनाइ छ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ । सिरिजका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार २१:३७