८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात

१२ जेठ, काठमाडौँ ।  नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय भए निकालिने निष्कर्ष सत्ताको चरम दुरुपयोग, धाँधली र पैसाको खोलो बगाएको भन्ने हुन्थ्यो ।

तर, यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओली नै अन्तर्घात भएको निष्कर्षमा पुगे । ३० वैशाखमा निर्वाचन भएर मतगणना जारी रहेकैबेला महासचिव शंकर पोखरेलले भने १ जेठमा विज्ञप्ति निकाल्दै निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित नभएको देखि एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको सँगै सत्ताको चरम दुरुपयोग भएको आलोचना गरेका थिए ।

निर्वाचन परिणाम आइसक्न लाग्दा भने अध्यक्ष ओली पार्टीले पराजय बेहोर्नुको कारणमध्येमा अन्तर्घात पनि भएको निष्कर्षमा पुगेका हुन् ।महानगरपालिकाहरूमा पार्टीका उपप्रमुख पदका उम्मेदवारहरूले मात्र निर्वाचन जितेपछि बुधबार संसदीय दलको बैठकमा ओलीको यस्तो निष्कर्ष आएको हो ।

पार्टी संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई पनि न्युज कारखानासँग भन्छन्, ‘हाम्रो पार्टी (एमाले)मा यस्तो अन्तर्घात यसअघि देखिएको थिएन । उम्मेदवार चयनमा कमजोरी हुँदा यस्तो भएको हुन सक्छ ।’

नेपाली कांग्रेसले २९ वर्षदेखि अन्तर्घात सहँदै आएको छ । उम्मेदवार चयनमा चित्त नबुझेका नेता, कार्यकर्ताहरूले निर्वाचनमा असहयोग गरेर पार्टीका आधकारिक उम्मेदवारहरूलाई पराजित गर्नुलाई अन्तर्घात भनिँदै आएको छ । २०५० सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा पहिलो पटक कांग्रेसमा अन्तर्घातको चर्चा चलेको थियो ।

अन्तर्घात गर्ने नेता गिरिजाप्रसाद कोइराला र उनले अन्तर्घात गर्दा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई वर्तमान राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीसँग पराजित हुनुपरेको अहिले पनि कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।त्यही उपनिर्वाचन यता कांग्रेसले हार भए अन्तर्घात प्रमुख कारण मान्दै आएको छ ।

प्रकाशित मिति : May 26, 2022 at 8:51 am