९ आश्विन २०८१, बुधबार | Wed Sep 25 2024

विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ: योगेश भट्टराई

 ४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९ र ८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन् ।

‘अहिले पनि हामी मित्र राष्ट्रबाट महँगोमा बिजुली किनिरहेका छौं, आयात गरिरहेका छौं । महँगोमा किनेको बिजुली हामीले बेच्दा सस्तोमा बेचेका छौं । यसले क्रमशः विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ,’ भट्टराईले भने ।

प्राधिकरणलाई जोगाउने विषयमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नपरेको भन्दै उनले देशभित्र र बाहिरबाट ऊर्जामा लगानी बढाउनु पर्नेमा जोड दिए । रेमिट्यान्स घटेको विषयमा छानबिन गर्दा सरकारले गभर्नरमाथि कारबाही गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:५२