अब श्रीमती मरेका श्रीमानले पनि भत्ता पाउने
६ भदौ, वैतडी । अब श्रीमती मरेका श्रीमानले पनि भत्ता पाउने भएका छन् । वैतडीकाे मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने निर्णय गरेकाे हाे । सामाजिक सुरक्षा भत्ता अन्तर्गत जिल्लाको मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने निर्णय गरी नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको जानकारी मेयर कृष्णसिंह नायकले दिए ।
असहाय पुरुषहरुलार्इ जीउन सहज होस् भनी आफूहरुले भत्ता दिने निर्णय गरेको मेयर नायकले बताएका छन् । अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको नायकले बताए । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १८:१५