१७ जेष्ठ २०८१, बिहीबार | Thu May 30 2024

२८ प्रतिशत मतदान भइसक्याे -महोत्तरी


३० बैसाख, महोत्तरी । महोत्तरीमा अहिलेसम्म २८ प्रतिशत मत खसेको छ । जिल्लाका सबै पालिकामा गरी २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगका सूचना अधिकारी प्रवीण झाले जानकारी दिए ।

१५ वटै स्थानीय तहमा मतदाताको उत्साहजनक उपस्थिति छ । जिल्लामा तीन लाख ३६ हजार ९५ जनाको मतदाता नामावली भए पनि ३३ हजारसम्म मत खस्न सक्ने अनुमान गरिएको छ । जिल्लाको बल्वा नगरपालिकाबाहेक अन्य ठाउँमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बिहान १०:३० बजे बल्वा नगरपालिकामा मतदाता नामावलीका सम्बन्धमा केहीबेर झडपको स्थिति बनेको भए पनि अहिले भने शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । एसपी कृष्ण पंगेनीका अनुसार भिडलाई शान्त बनाउन एक राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।

निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकामा एक सय ५० जना नगर प्रमुखमा उम्मेदवार दर्ता गरेका छन् भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।

त्यसैगरी जिल्लाका १३८ वटा वडा जम्मा ८८५ जनाले वडाध्यक्ष, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । तर प्रतिस्पर्धापछि जिल्लाका १५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल  छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:१६