२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

रुपन्देहीमा उत्साहजनक मतदानमा सहभागिता (फाेटाेफिचर)


३० वैशाख, भैरहवा । स्थानीय तह निर्वाचनमा मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन । नयाँ सविधान जारी भएपछि दोस्रो पटक हुँदै गरेको निर्वाचनमा रुपन्देहीको सबै पालिकामा मतदान सुरु भएको छ ।

वर्षाले केही चुनाैती थपिए पनि अहिले मौसमको अवस्था सामान्य छ । निर्वाचन केन्द्रमा बिहानैदेखि मतदाता उत्साहपूर्वक सहभागी छन् । तराईको कर्णालीको उपनामले चिनिने मर्चवार क्षेत्रमा पनि बिहानैदेखि मतदाता लाइनमा छन् ।

दुई सय आठ मतदानस्थलका सात सय मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा तैनाथ छन् ।

रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषका लागि अलग अलग लाइन लाग्ने गरी व्यवस्था मिलाइएको छ भने अपांगता, असक्त तथा जेष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेको रुपन्देहीमा तीन लाख आठ हजार पाँच सय ७४ महिला, तीन लाख २३ हजार सात सय ७८ पुरुष आठजना अन्य गरी कुल ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता छन् ।

निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार आठ सय प्रहरी भित्री सुरक्षामा रहने छन् । मतदानस्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् । यसबाहेक प्रहरी अधिकृतसहितको नेपाल प्रहरीको गस्ती टोली, सशस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्तीमार्फत सुरक्षा दिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा तार जाली र सिसी टिभीकोे व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ११:१०