८ असार २०८३, सोमबार | Mon Jun 22 2026

बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

२२ वैशाख, झापा । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ । मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।

उपप्रमुखमा बागी उम्मेदवारी दिनुभएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक हुनुहुन्थ्यो । पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ । वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।

बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ । वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : May 5, 2022 at 10:38 am