२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

पुलिसको दुवै टोलीलाई सफलता


२१ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौं आरबिबि–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा बुधबार सफलता प्राप्त भएको छ ।

महिला तर्फ पुलिसले बुटवलको एभरेस्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले तथा पुरुष तर्फ गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० ले पराजित गर्दै सफलता प्राप्त गरेको हो ।

यस्तै आजै भएको महिला तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले होङ्गवाङ्गजी न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ ले पराजित गरेको छ । नेपाल पुलिसको यो जितसँगै दुई खेलबाट ६ अंक बनाएको छ भने सेनाको तीन खेलबाट ६ अंकनै रहेको छ ।

यस्तै नेपाल एपिएफ क्लबको ३ अंक, एभरेस्ट भलिबलको २ अंक र न्यू डायमण्डको १ अंक रहेको छ । न्यू डायमण्डकी स्टार खेलाडी प्रतिमा माली घुँडामा चोट बोकेका कारण यस प्रतियोगितामा अनुपस्थित रहेकी छिन् ।

राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष तर्फ टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३० र २५–२३ ले पराजित गर्‍यो । पुलिसले यो जितसँगै ९ अंक बनाएको छ । यस्तै हेल्प नेपालको ८ अंक, सेनाको ९ अंक, एपिएफको ३ अंक, गण्डकीको ४ र गलकोटको ० अंक रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १८:४२