८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

नुवाकोटको तारकेश्वरमा एमालेविरूद्ध प्रेस चाैतारीका सचिव तारूकेको बागी


१३ वैशाख, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका आधिकारिक उम्मेदवारको विरूद्धमा एमालेकै जिल्ला कमिटीका सदस्य एवं प्रेस चौतारी नेपालका सचिव विष्णु जम्कट्टेल तारूकेले बागी उम्मेदवारी दिएका छन ।

नेकपा एमालेले गाउँ कमिटी र जिल्ला कमिटीको सिफारिसका आधारमा वर्तमान अध्यक्ष रमेशबहादुर वस्तीलाई पुनः अध्यक्षको टिकट दिएको थियो । तर जिल्ला कमिटीकै सदस्य समेत रहेका जम्कट्टेलले एमालेकै बिरूद्धमा उम्मेदवारी दिएका हुन ।

उनले नेपाली कांग्रेसका उम्मेदवार पत्रकार भनिने शिव अधिकारीको इशारामा एमालेविरूद्ध उम्मेदवारी दिएको स्रोतले जनाएको छ । कतिपय एमाले नेताहरूले भने रकमको बार्गेनिङका लागि यस्तो गरेको हुनसक्ने अशंका गरेका छन । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि बागी उम्मेदवारी दिएका थिए । पछि नेताहरूले फिर्ता गराएका थिए ।

जम्कट्टेल त्रिशुली प्रवाहको कार्यकारी सम्पादक समेत हुन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालका विश्वासपत्र जम्कट्टेलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिने तयारी नुवाकोट एमालेको गरेको छ । यता नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले आफैँले बागी उम्मेदवारी दिन लगाएको दाबी गरेका छन । दैनिकीसँग कुरा गर्दै उनले जम्कट्टेल आफ्नो उम्मेदवार भएको बताए । नेकपा एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले हस्ताक्षर गरेको उम्मेदवार तय गरेको सूचनामा भने रामेशबहादुर वस्तीले अध्यक्षको उम्मेदवारी दिने उल्लेख गरिएको  छ।

(नोटः एमाले नुवाकोटका अध्यक्ष मैनालीले दिएको प्रतिक्रिया पछि समावेश गरिएको हो । सम्पादक)

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलवार १४:१४