८ जेष्ठ २०८१, मंगलवार | Wed May 22 2024

स्थानीय तह निर्वाचन मनोनयन दर्ताः हालसम्म साढे १६ हजारभन्दा बढीले दिए उम्मेदवारी


१२ वैशाख, काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि विभिन्न पदमा हालसम्म १६ हजार ५६८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार मध्यान्ह १२ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । आयोगले मनोनयन दर्ताको लागि आइतबार र सोमबार दुई दिन समय छुट्टयाएको थियो । मनोनयन दर्ता गर्न सोमबार बेलुकी पाँच बजेसम्म पाइने छ ।

हालसम्म उम्मेदवारी दिनेमा प्रदेश १ मा २ हजार ९९२, मधेस प्रदेशमा ५ हजार ४९, बागमती प्रदेशमा २ हजार २७०, गण्डकी प्रदेशमा १ हजार ३९, लुम्बिनी प्रदेशमा ३ हजार ५३२, कर्णाली प्रदेशमा ६४९ र सुदुरपश्चिम प्रदेशमा १ हजार ३७ जना रहेका छन् ।

हालसम्म परेका उम्मेदवारीमध्ये प्रमुखको लागि ७६८, अध्यक्षको लागि ६१४, उपप्रमुखको लागि ३८३, उपाध्यक्षको लागि ३३४, वडा अध्यक्षको लागि ४ हजार ४३९, महिला सदस्यको लागि २ हजार ५४१, दलित महिला सदस्यको लागि २ हजार ५९ र सदस्यको लागि ५ हजार ४३० रहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार १३:३१