कांग्रेसबाट उम्मेदवार छनोटको अधिकार देउवालाई
११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदरवार छनोट गर्न नेपाली कांग्रेसले संसदीय समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले १३ पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल सदस्य रहेको समिति गठन गरेको हो ।
उम्मेदवार छनोटको लागि समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । मनोनयन दर्ता प्रक्रिया सुरु भएपछि कांग्रेसले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको प्रमुख, उप्रमुख छनोटका लागि समिति गठन गरेको हो ।
गठबन्धनको भागबन्डाअनुसार काठमाडौं, ललितपुर र विराटनगर पालिकाको मेयर कांग्रेसको भागमा परेको छ । त्यस्तै वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा कांग्रेसले उपमेयर पाएको छ ।
उपमहानगरको हकमा कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा मेयरको सिट पाएको छ । जितपुर सिमरा, घोराही र हेटौंडामा उपमेयर कांग्रेसको भागमा परेको छ ।
यी सबै सिटमा कांग्रेसले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन् । त्यसका लागि कांग्रेसले समिति गठन गरेको हो । समिति गठन गरे पनि उम्मेदवार छनोटको अधिकार भने देउवालाई दिइएको हो ।
प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १७:२३