इलाम र देउमाई नगरपालिकामा कांग्रेसले उम्मेदवार टुंग्यायाे
११ वैशाख, इलाम । इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ । सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगाे लागेको छ । इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रसकै विष्णु दाहालकाे नाममा सहमति जुटेकाे छ ।
देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा सूर्योदय नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले पाउने छ । सूर्योदयको प्रमुखमा निवर्तमान प्रमुख रणबहादुर राई दोहोरिने छन् । सूर्योदयको उपप्रमुखमा कांग्रेसका दुर्गा बरालको नाममा टुंगाे लागेको छ ।
इलामको माई नगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले उम्मेदवार टुंगाे लगाएको छैन । माईको उपप्रमुखमा कांग्रेसकै हेमकुमार लिम्बूले उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले पाएको अन्य गाउँपालिकाको भने उम्मेद्वार टुंगाे लागिसकेको छैन ।
प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार १५:१३