विप्लवलाई ओलीको प्रस्तावः सूर्य चिह्नबाट चुनाव लड्नुस्, गठबन्धनको मतियार नबन्नुस्
५ वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्दै चुनाव सार्ने गठबन्धनको मतियार नबन्न आग्रह गरेका छन् । साेमबार नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सूर्य चिह्नबाट चुनाव लड्न विप्लवसँग प्रस्ताव गरेका हुन् ।
‘चुनाव सुन्नेबित्तिकै गठबन्धनको सातो जान्छ, उनीहरू चुनाव मिति घोषणा गर्न चाहेका थिएनन् । अहिले पनि सार्ने षड्यन्त्र गरिरहेका छन्, चल्ला पार्छ कि पार्दैन बेग्लै कुरा हो अण्डा उफारिरहेका छन्,’ ओलीले भने, ‘चुनाव सार्न विप्लवलाई अगाडि सारेका छन्, विप्लवलाई मैले खुला राजनीतिमा ल्याएको हो । पार्टी दर्ता गर्ने बेलामा कहाँ जानु भएको थियो र अहिले गठबन्धनको मतियार र हतियार बन्न मिल्छ ?’ उनले भने ।

ओलीले कुनै राजनीतिक झुण्डका लागि चुनाव रोक्न नमिल्ने बताए । ‘विप्लवका लागि होइन विप्लवलाई हतियार बनाएर, माध्यम बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । यदि तपाईंलाई पार्टी भएन भन्ने हो भने सूर्यबाटै लड्नुस्, कार्यकर्ता तपाईंकै हुनेछन्,’ ओलीले भने । चुनाव सार्ने गठबन्धनको मतियार बनेर आफ्नो इमान्दार छवी नबिगार्न विप्लवलाई ओलीले सुझाव दिए ।
प्रकाशित मिति : April 18, 2022 at 4:17 pm









