१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

७ करोडको ठेक्कामा २ करोड कमिसन ! नुवाकोट म्यागङका अध्यक्ष आशाविरूद्ध अख्तियारमा मुद्दा

२६ चैत, नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले सूचना संशोधन गरेर ७ करोडको ठेक्कामा कमिसन खाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा परेको छ । यही चैत १४ गते अख्तियारको केन्द्रीय कार्यालयमा ७ करोडको ठेक्कामा सूचना संशोधन गरी अध्यक्ष आशा तामाङले भ्रष्टाचार गरेको दाबीसहित उजुरी दर्ता भएको छ । यस मुद्दामा आयोगले भने अनुसन्धान सुरू गरिसकेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि २०७७ असोज ६ गते सूचना प्रकाशित गरेकोमा ३० दिन भित्र बोलपत्र पेश गर्न पर्नेमा २ कम्पनीहरुको बोलपत्र निवेदन परेकोमा अध्यक्ष तामाङले फेरि सूचना संशोधन गरेर नयाँ कम्पनीको प्रवेश गराएर ३३ प्रतिशत अर्थात करिब २ करोड ४५ लाख कमिसन बुझेको दाबी उजुरीमा गरिएको छ ।

उजुरीमा उक्त बोलपत्रको कागजात नियमन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरिएको छ । भ्रष्टाचारको मुद्दा परेका आशा ठेकेदार जनप्रतिनिधि हुन । उनी २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए । आशाको सामरी कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । यसअघि नुवाकोटको १२ पालिकामा १२ जनाा नै ठेकेदार जनप्रतिनिधि भनेर दैनिकीले नै समाचार प्रकाशित गरेको थियो ।

अध्यक्ष तामाङ र सूचना संशाेधन गरेर ठेक्कामा भ्रष्टाचार गरेको भन्ने उजुरीको व्यहोरा ।

यसअघि म्यागङ गाउँपालिकामा भ्रष्टाचारको प्रमाण मेटाउन आगजनी गरेको विषय पनि बाहिर आएको थियो । गाउँपालिकाले गरेका धेरै काममा भ्रष्टाचार भएको भन्दै वडा वडाबाट आवाज उठिरहेको समयमा लकडाउनको समयमा गाउँपालिकाको सबै महत्वपूर्ण कागजात एकैठाउँमा जल्ने गरी आगजनी भएपछि राजनीतिक दलहरू समेत शशंकित बनेर आन्दोलित नै भएका थिए ।

२०७७ सालको बैशाख ८ गते दिउँसो सवा १ बजे गाउँपालिकाको भण्डारण शाखामा गरिएको आगजनीको निष्पक्ष छानविन गर्नुपर्ने भन्दै प्रतिपक्षी नेकपाले विज्ञप्ति नै जारी गरेको थियो । उसले विज्ञप्ति प्रकाशन गरी गाउँपालिकाको भण्डारण शाखामा भएको आगजनीप्रति शंका व्यक्त गरेको थियो ।

नेकपाले विज्ञप्तिमा कोरोना संक्रमणको सन्त्रास र मुलुक लकडाउनको बिषम परिस्थितिमा औषधी लगायत आर्थिक बर्ष २०७४/०७५ र २०७५/०७६ का सम्पूर्ण कागजात जलेर नष्ट हुनुको पछाडी आफ्ना कमी कमजोरी ढाकछोप गर्ने दुस्साहसको गन्ध आएको उल्लेख गरेको थियो ।

यो पनि पढ्नुहोस्

-नुवाकोटको म्यागङमा भ्रष्टाचारको प्रमाण मेटाउन गाउँपालिकाको कार्यालयमा आगजनी !

-नुवाकोटका यी जनप्रतिनिधि पुनः उम्मेदवार हुन अयोग्य, निर्वाचन आयोगले तोक्यो योग्यता

-१२ स्थानीय तह भएको नुवाकोटकामा १२ जनप्रतिनिधि ठेकेदार (सूचीसहित)

-भूकम्प पीडितको अनुदानको पैसामा हरिद्वार घुमेर फर्कियो नुवाकोटका जनप्रतिनिधिको टोली 

प्रकाशित मिति : April 9, 2022 at 10:49 pm