३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

नुवाकोटका यी जनप्रतिनिधि पुनः उम्मेदवार हुन अयोग्य, निर्वाचन आयोगले तोक्यो योग्यता


१६ चैत, नुवाकोट । राजनीति पेशा र व्यवसाय बन्दै जाँदा जनप्रितिनिधिको रूपमा निर्माण व्यवसायी (ठेकेदार)को संख्या पनि बढ्दो छ । यहीक्रममा निर्वाचन आयोगले ठेकेदारलाई जनप्रतिनिधि हुनबाट बञ्चित गरेको छ । उम्मेदवार हुने योग्यता तोक्दै आयोगले स्थानीय तहमा ठेक्कापट्टा वा लेनदेनमा सहभागी भएकाले उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

योसँगै नुवाकोटका १२ वटा स्थानीय तहका १२ जना पुन जनप्रतिनिधि हुनः ठेकेदारी छाड्नुपर्ने अवस्थामा देखिएका छन् । सबैजसोले आफैँ निर्वाचित भएको पालिका वा अर्को पालिकामा ठेक्का पट्टाका काम गर्दै आएका छन । अझै धेरै जनप्रतिनिधिले त निर्वाचित भएपछि ठेक्कापट्टाको काम पनि सुरू गरेका छन ।

नुवाकोटमा गत चुनावमा विजयी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरू जनप्रतिनिधि र ठेकेदार दुबैको भूमिकामा रहेका छन । उनीहरूको मुख्य ध्ये कहाँबाट कसरी ठेक्का हात पार्ने र पैसा कमाउने भन्ने रहेको छ । नगरपालिकाका मेयरदेखि गाउँपालिकाका वडा सदस्य समेत ठेकेदार रहेको विषय यसअघि पनि दैनिकीले समाचार प्रकाशित गरेको थियो ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, पण्डित निर्माण सेवाका सञ्चालक हुन । उनी एमाले नुवाकोटको सचिवालय सदस्य हुन । पण्डित एमालेबाट विदुर नगरपालिकाको मेयरमा विजयी भएका थिए । त्यस्तै अर्का ठेकेदार जनप्रतिनिधि लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ हुन । उनी नेपाली कांग्रेस नुवाकोटका सदस्य पनि हुन । श्रेष्ठको गुलीभर कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसकै नेता योविन्द्रसिंह तामाङ पनि ठेकेदारी पेशमा रहेका छन । उनी दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । तामाङको याङरिला कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । त्यस्तै नेकपाका नेता समेत रहेका तेजबहादुर तामाङ पनि ठेकेदारी पेशामा रहेका छन । उनी पञ्चकन्या गाउँपालिकाका अध्यक्ष हुन । उनको टी एन्ड बी कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ ।

त्यस्तै म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ पनि ठेकेदार जनप्रतिनिधि हुन । उनी पनि नेपाली कांग्रेसका नेता हुन । उनको सामरी कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । यस्तै जनप्रतिनिधि ठेकेदार रहेकोमा विदुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष फैसिङ तामाङ रहेका छन । उनी नेपाली कांग्रेसका जिल्ला सदस्य हुन । उनको दयाज्योति निर्माण सेवा सञ्चालनमा रहेको छ ।

यस्तै विदुर नगरपालिका वडा ९ का अध्यक्ष सनी चित्रकार पनि ठेकेदार हुन । उनको चुलन निर्माण सेवा सञ्चालनमा छ । उनी नेकपाका नेता हुन । त्यस्तै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुवकर केसी पनि ठेकेदर हुन । उनी कांग्रेसका नेता हुन । उनको ओमकार विल्डर्स सञ्चालनमा छ । कांग्रेसकै नेता समेत रहेका म्यागङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कमलबहादुर तामाङ पनि ठेकेदारसहितका जनप्रतिनिधि हुन । उनको किम्ताङ निर्माण सेवा सञ्चालनमा रहेको छ ।

म्यागङ गाउँपालिकाकै अर्का जनप्रतिनिधि पनि ठेकेदारी पेशमा रहेका छन । वडा नम्बर ३ का अध्यक्ष हरिबहादुर तामाङ न्यू कामना निर्माण सेवाका सञ्चालक हुन । उनी पनि नेपाली कांग्रेसकै नेता हुन । यस्तै म्यागङकै दिलबहादुर गुरूङ पनि ठेकेदारी पेशामा रहेका छन । उनी पनि कांग्रेसका नेता हुन । शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वीरबहादुर गुरूङ पनि ठेकेदार हुन । उनको कालिका निर्माण सेवा सञ्चालनमा रहेको छ । उनी पनि नेपाली कांग्रेसका नेता हुन ।

निर्वाचन आयोगले बुधबार जारी गरेको उम्मेदवार हुने योग्यता अनुसार माथि उल्लेख गरिएका ठेकेदार जनप्रतिनिधिहरू पुनः उम्मेदवार हुन अयोग्य रहेका छन । उनीहरूले केहीगरी उम्मेदवारी दिने र प्रमाणसहित उजुरी परेको खण्डमा उनीहरूको उम्मेदवारी नै खारेज हुनेछ ।

जनताको काम भन्दा बढी ठेक्कापट्टामा जनप्रतिनिधि रमाउन थालेपछि निर्वाचन आयोगले महत्वपूर्ण निर्णय लिएको छ । यसले धेरै ठाउँमा पैसा बोकेर टिकट हत्याउन लागेका ठेकेदारहरू ठेक्कापट्टाको काम छाडेरमात्र जनप्रतिनिधिको उम्मेदवारी दिन पाउनेछन ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १८:४८