११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नुवाकोट उद्योग वाणिज्य संघको सदस्यता शुल्कको ६ लाख हरायो, अधिवेशन अनिश्चित

२५ चैत, नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघको ११औं अधिवेशन तथा २८औं वार्षिक साधारणसभा अनिश्चति भएको छ । संघले जिल्लाको एक साप्ताहिक पत्रिकामा सूचना जारी गर्दै चैत २५ र २६ गतेको लागि तय भएको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।

स्रोतका अनुसार संघका सदस्यहरूबाट नवीकरण बापत प्राप्त हुने ६ लाख रूपैयाँ हराएपछि मतदाताको अन्तिम नामावाली तयार गर्ननै समस्या भएपछि अधिवेशन स्थगित हुनु पुगेको हाे । संघका अध्यक्ष ताराबहादुर कार्की विदुर नगरपालिका वडा नम्बर २ बाट कांग्रेसको तर्फबाट चुनाव लड्ने तयारी गरिरहेका छन । वैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुनुपर्ने भएपछि कार्कीले त्यसअगावै अधिवेशन गरेर संघको नेतृत्व हस्तान्तरण गर्न खोजेका थिए तर नेपाली कांग्रेसको गुटबन्दीका कारण उनले अधिवेशन तत्काल गर्न नसक्ने भएका छन ।

गत असोजमै सदस्यता नवीकरण गरेकाहरूको शुल्क प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले नबुझाएको स्राेतले जनाएको छ । उनीहरू दुबैले रसिद अनुसारको पैसा दिन नसकेको बताइएको छ । संघका पदाधिकारीले सदस्यको नविकरण आफू अनुकुल गरेको तर पैसा नतिरेको पनि बुझिएको छ ।

संघमा सदस्यता नवीकरणको रकम छ लाख जम्मा नभएपछि कार्यसमितिका सदस्यहरू उद्धव पन्थ, गीता ढकाल, नविन जोशी, उत्तम ढकालले अध्यक्ष कार्कीसँग हिसाब मागेको आर्थिक दैनिकले यसअघि समाचार प्रकाशित गरेको थियो । तर कार्कीले रसिद काटे अनुसारको ६ लाख रूपैयाँ खातामा जम्मा हुन नसकेको बताएका थिए ।

प्रकाशित मिति : April 8, 2022 at 1:20 pm