३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भयाे : अध्यक्ष ओली

२४ चैत, नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी-विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् ।

नेकपा एमाले, बाँकेले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवादी यिनै पाँचदलीय गठबन्धन भएको भन्दै चुनावमा हराउन सकिएन भने देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुने बताएका हुन् ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको बताउनु भयो । अध्यक्ष ओलीले वर्तमान सरकारले अस्पताल र विद्यालयका आयोजनाहरुसमेत बन्द गर्न थालेकाले वृद्ध भत्तासमेत कुन दिन देखि बाँड्न रोक्ने आशंका व्यक्त गरे ।

नेकपा समाजवादीका धेरै नेताहरुलाई एमालेमा प्रवेश गराएका एमाले अध्यक्ष ओलीले ‘एस’ भन्ने पार्टी बाँकेमा ‘फुस’ भएको बताए । अध्यक्ष ओलीले नेकपा समाजवादीका जिल्ला सहसचिव एवं युवा संघका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापालगायत नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराए ।

प्रकाशित मिति : April 7, 2022 at 7:26 pm