१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

बाढीले क्षति पुर्‍याएपछि सिटिजन्सको देविघाट शाखा बट्टार सर्दै, मंसिर १७ देखि नयाँ ठाउँबाट कारोबार

१७ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको देविघाटमा सञ्चालन गर्दै आएको शाखा कार्यालय बट्टार बजारमा स्थानान्तरण गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण विदुर नगरपालिका–५ मा रहेको देविघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि बैंकले शाखा स्थानान्तरण गर्ने निर्णय गरेको हो।

बाढीबाट क्षति पुगेको पुरानो स्थानमा निकट भविष्यमा शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेपछि बैंकले करिब ७ किलोमिटरको दूरीमा रहेको विदुर नगरपालिका–२ स्थित बट्टार बजारमा शाखा सार्न लागेको जनाएको छ। स्थानान्तरणपछि देविघाट शाखाको नामसमेत परिवर्तन गरी ‘बट्टार शाखा’ कायम गरिनेछ। नयाँ स्थानबाट आगामी मंसिर १७ गतेदेखि सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन हुने बैंकले जनाएको छ।

बैंकले नयाँ स्थानबाट सेवा सुरु भएपछि उक्त क्षेत्रका ग्राहकलाई थप सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध हुने विश्वास लिएको छ। सिटिजन्स बैंकले देशभर शाखा सञ्जाल विस्तारसँगै डिजिटल बैंकिङ तथा प्रविधिमैत्री सेवामा समेत जोड दिँदै आएको छ।

प्रकाशित मिति : November 3, 2026 at 12:08 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/