११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

 कांग्रेसका सयौँ नेता नेकपामा प्रवेश गराउँदै अोलीले भने समृद्धिको नयाँ उडान सुरू हुन्छ

३१ साउन,काठमाडौं । विभिन्न जिल्लाका कांग्रेसका सयौं नेता कार्यकर्ता नेकपामा प्रवेश गराउदै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब समृद्धिको नयाँ उडान भर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा  सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताउनु भएको हो ।

 प्रधानमन्त्री ओलीले पार्टीलाई भरोसा गरेर आबद्ध हुन आउनेहरुको अपेक्षा खस्किन नदिने  बताउनु भयो । ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ । नेकपामा आएका साथीहरूको अनुहारमा हेरे देश बनाउने संकल्प छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,ʼ प्रधानमन्त्री ओलीले भन्नुभयो, ʻयहाँहरूको विश्वास तलमाथि पर्दैन ।ʼ

उहाले गणेशमान र कृष्णप्रसाद भट्टराईले समेत कांग्रेस छाड्नु परेको भन्दै नेकपा प्रवेश गरेका कार्यकर्ताले पछुताउनु नपर्ने बताए । ʻआज नेपाल नयाँ उद्देश्य, नयाँ अठोट र आत्मविश्वासका साथ अगाडि बढ्दैछ । सरकारले जनताका कामना र चाहानालाई व्यवहारमा उतार्ने बताउनुभयाे ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब सरकारले बोल्ने भन्दा काम गरेर देखाउने बताउनु भयो । सरकारले गतिलिन शुरु गरिसकेको बताउँदै  दाहालले अब बोलेर होइन काम गरेर सबैलाई देखाइने स्पष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने समेत बताउनु भयो । कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजी चण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता नेकपा प्रवेश गर्नुभएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७५, बिहीबार १२:३४