१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

डा रामशरण महतलाई गाली गर्नेहरू अब ताली बजाउ

-दिनेश आचार्य

कोरोना महामारी सुरू हुनुअगाडि नै हाम्रो विदेशी मुद्रा सञ्चिति करिब साढे नौ अर्ब डलरमा झरिसकेको थियो। यसलाई सन्तुलित राख्न केपी ओली सरकारले खासै चासो दिएन । जसै हामीले लकडाउन खुकुलो भयो, रोकिएको आयात एकैपटक डबल परिमाणमा आउन थाल्यो र बिदेशी मुद्रा सोहि स्पिडमा बाहिरीन थाल्यो ।

त्यतिबेला पनि राष्ट्र बैंकले आयात घटाएर डलर जोगाउन चासो दिएन । इतिहासमै हामी अहिले बिदेशी मुद्रा संचितिको कमजोर अवस्थामा छौं । ६ महिना यस्तै रहे हामिसग अत्यावश्यक औषधि जस्ता सामान बिदेशबाट झिकाउने पैसासम्म हुने छैन ।

यो कसरी बढ्यो त ?

२०५८ सालतिर आयात हिस्सा अहिलेजस्तो धेरै थिएन। आयात र निर्यातको अनुपात २:१ जति थियो। त्यो बेला तीनवटा कुरा एकैचोटि भए — 1,रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति बढ्दै गयो । 2,माओवादी विद्रोहले वैदेशिक रोजगारी झनै फस्टायो र 3, अति राजनीतिकरणले श्रमिक आन्दोलन हुँदा उद्योगधन्दा चल्न नसक्ने भयो। अब उध्योगीहरु उध्योग बन्द गरेर ट्रेडिङ बिजनेसमा लागे र ठुला आयातकर्ता बने । उध्योग चलाउन नसक्नेहरु त उस्सै नै थिए ।

उता रेमिटेन्सका कारण गाउँगाउँमा बिदेशी सामानको माग भयो । किनकि गरिबको पनि क्रयशक्ति बढेकै थियो । किसानहरु शहरकेन्द्रीत हुँदा उब्जनी घट्यो । अब करेसामा फल्ने तरकारी नै बर्षको ३५ अर्बभन्दा बढीको आयात हुन थाल्यो।

आयातले सरकार पनि खुश । किनभने आयातबाटै सरकारले कुस्त राजस्व उठाइरहेको थियो । ३ खर्बको बजेटको आकार बढेर १३ खर्ब पुगिसकेको थियो। अब आयातमा कडाइ गर्दा राजस्व लक्ष्य पूरा नहुने हुँदा कुनैपनी अर्थमन्त्री आफ्नो असफलता नदेखियोस भन्दै आयात घटाएर बिदेशी मुद्राको संचिति जोगाउन लागेनन ।

हुन त अर्थमन्त्रीहरुका के कुरा गर्नु ! पछिल्लो १५ बर्षमा अर्थमन्त्रीको कुर्सीमा बसेकाहरुको अनुहार हेरौं । डा. रामशरण महतपछी कुनचाहिँ गतिलो अर्थशास्त्री त्यो पदमा पुगे र ? केपी ओलीले दोस्रोपल्ट ल्याएका युवराज खतिवडा बिज्ञ भनिए पनि ‘टोटल फेल्ड’को ट्याग भिरेर निस्किए ।

खतिवडाबाहेक यो डेढदशकमा अर्थमन्त्री बनेका अनुहार एकपटक सम्झेर लिस्ट बनाऔं है त ?
२- सुरेन्द्र पान्डे
३- भरतमोहन अधिकारी
४- बर्षामान पुन
५- शंकर कोइराला
६- बिष्णु पौडेल {२ पटक}
७- कृष्णबहादुर महरा
८- ज्ञानेन्द्र बहादुर कार्की
९- जनार्दन शर्मा

यी नामहरुमा तपाईं कसैबाट आर्थिक बिज्ञताको गन्ध पाउनुहुन्छ ? देशको अर्थतन्त्र हाक्ने घाघडान यिनै र यस्तै हुन त ?  `जिडिपी´को फूलफर्म नजान्नेहरु अर्थमन्त्री बनेपछि देश उभो लाग्छ त ? तै पनि हामी यीनिहरुले समृद्धि लेराईदेला र हामी मोज गरौंला भनेर कुरिरहेछौ ।

यी लिस्ट बाहेक यसबीचमा अर्थमन्त्री बनेका बाबुराम भट्टराई, रामशरण महत र युवराज खतिवडालाई बिश्लेशकहरुले असल कोटामा राखे । तर दशकभन्दा बढी समय अर्थशास्त्रको नाममा ९ कक्षामा माल्थसको सिद्धान्त घोकेकाहरुले नै देशको अर्थतन्त्र चलाए ।

अझ वर्तमान अर्थमन्त्रीको योग्यता त गुगल गर्दा पनि `थाहै नभएको´ भनेर देखाउछ । अहिलेको सार्क राष्ट्रहरुको अर्थमन्त्रीहरुको लिस्ट हेर्दा लाजमर्दो नै छ । तानाशाही भनिएको पन्चायतकालमा समेत भरौटेहरुले अर्थमन्त्री र परराष्ट्र मन्त्री बन्न पाएनन/सकेनन । त्यसपछि बहुदलकालमा काग्रेस होस कि कम्निस्ट होस वा राप्रपा सबैले बिज्ञ अर्थशास्त्रीलाई नै अर्थमन्त्री बनाए ।

राजा ज्ञानेन्द्रले समेत डा. प्रकाशचन्द्र लोहनी, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. मधुकरशमशेर राणा र डा. रुप ज्योतिजस्ता चर्चित अर्थबिज्ञहरुलाई नै छानेर अर्थमन्त्री बनाएथे । तर गणतन्त्र ? जनताले ल्याएको गणतन्त्रमा राम्रो होला । योग्यताको कदर होला । भारदारहरु मात्रै नभै योग्य जनताका सन्तानले जिम्मेवारी पाउलान भनेको त उल्टो पो भयो ।

जब एसएलसी नि बल्लतल्ल पास गरेको ब्यक्ती केही बर्ष आन्दोलनमा सहभागी भएर नेता बनेकै भरमा बिना अध्ययन अर्थमन्त्री पदको दावी गर्न थाल्छ र बन्छ । त्यो मुलुकको गति ओरालो नलागे कस्को लाग्छ ? बिग्रदै गएको काग्रेस काङ्ग्रेसले त केही अगाडिसम्म आफ्नो इज्जत धानेरै राखेथ्यो । तर अहिले कांग्रेसले समेत अर्थमन्त्री बन्न अर्थशास्त्र बुझन’पर्दै भन्ने गुरिल्ला सिद्धान्त अंगाल्न भ्याइसकेको छ ।

अलिक पढेलेखेका र बुझेकाहरुको पाटी भनिने काग्रेस जब अर्थ र परराष्ट्रजस्तो प्राबिधिक मन्त्रालयको जिम्मा एउटा कखरा मात्रै जानेको ब्यक्तिलाई दिन थाल्छ । अनि काग्रेसकै यो अधोगतिले देशलाई भडखालोमा हाल्न बाहेक केही गर्दैन !

रामशरणलाई चिनेनौं कि ?

गिरिजाप्रसादले जतिसुकै आलोचना खेपेर भए पनि डाक्टर रामशरण महतलाई किन अर्थमन्त्री बनाईरहे रु भन्ने कुरा अब मान्छेहरुले बुझ्नेछन । रामशरण महतलाई `चुईया लोभी´ र `आफ्नै सम्पत्ति दिनुपरेजस्तो गर्छ´ भन्दै गाली गर्नेहरुले भेनेजुएला र श्रीलंकाको अवस्था हेरेर अब बुझ्नेछन डा. महतको दूरदर्शिता ।

कुनैबेला म स्वयं डा महतको आलोचक नै थिए । कतिपय कुरामा अहिले पनि मेरो उनीसंग ठुलो बिमति छ । नलेजको हिसाबले फरक शैलीको राजनितिको अपेक्षा गरेका हामिहरुका लागि उनले ३ दशकसम्म अपनाएको पन्चायती शैलीकै (अर्जुननरसिंहकै कपिक्याट) राजनिती सबैभन्दा मन नपर्ने तितो र गलत थियो।

तर उनले देशलाई जरैदेखि बलियो बनाउनुपर्छ भनेर पार्टीकै नेताहरुसंग झगडा गरेर बसाएको अर्थतन्त्रको थिती अहिले विजोगअवस्थामा पु’गिसकेको छ । त्यो पनि काग्रेसकै नेतृत्वमा रहेको सरकारले त्यसलाई ध्वस्त बनाइरहेको उनी चुपचाप हेरिरहेछन ।

कम्निस्टहरु राज्यकोष ब्यक्तिलाई बाडेर पपुलर बन्दै देश टाट पल्टाउने नीति राख्छन । तर उनीहरुकै भाषामा पुजीवादी दलाल भनिने डा. महतहरु देशको ढुकुटी बलियो नाएर कुनैपनि संकटलाई टार्न सक्षम हुने निति बनाउछन । वितरणमुखि अर्थतन्त्रले देश कसरी सिद्धिन्छ भन्ने उदाहरण त संसारकै धनी देशमा पर्ने भेनेजुएला ५ बर्षकै बिचमा टाट पल्टेर भोकमरी लागेको उदाहरण देखेको हिजोमात्रै हो ।

अहिले श्रीलंका टाट पल्टेपछी हामीकहां बहस शुरु भयो । अब पाकिस्तान टाट पल्टिने लाइनमा हामीभन्दा अगाडी छ । यस्तै हो भने ढिलोचाडो हाम्रो पालो पनि आइहाल्छ । देश चुनाव गराउने, चुनाव जित्ने अनि कुर्सीमा बसेर भ्यु टावर बनाउदै जग्गा प्लटिङ कसरी गर्ने भन्नेबाहेक अरु सोच्ने नसक्नेहरुको कब्जामा छ । हामी त हेरेर रामराम भन्ने न हो ।  (नोट: धेर नकारात्मक र निराशावादी भयो कि जस्तो छ, अर्को पोस्टमा सकारात्मक पाटो केलाउने प्रयास गर्नेछु ।)

आचार्यको फेसबुकबाट

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार ०९:०३