स्थानीय तहमा गठबन्धनः नुवाकोटमा कांग्रेसलाई विदुर र माओवादीलाई बेलकोटगढी नगरपालिका
२० चैत, नुवाकोट । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेको तीन दलले नुवाकोटको दुई नगरपालिका मध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक एकमा भागवण्डा गर्ने भएका छन ।
कांग्रेस स्रोतका अनुसार विदुर नगरपालिकाको नेतृत्व कांग्रेसले पाउने छ भने वेलकोटगढी नगरपालिकाको नेतृत्व माओवादी केन्द्रले पाउनेछ । नुवाकोटमा १२ वटा पालिका भए पनि चासोका रूपमा दुई वटा नगरपालिकालाई हेरिएको छ ।
दुबै पालिका उम्मेदवार पनि करिब पक्का भएको ती नेताले बताए । उनले नेपाली कांग्रेसका तर्फबाट विदुरको मेयरमा ध्रुव अधिकारी र राजनलाल श्रेष्ठ मध्ये एक जना हुनेछन । माओवादी केन्द्रबाट विदुर नगर कमिटीको अध्यक्ष रहेकी प्रभा बोगटी आउने करिब पक्का रहेको छ ।
त्यस्तै बेलकोटगढीमा माओवादी केन्द्रले मेयर पाउने भएपछि जगतबहादुर तामाङ र विमला सुवेदी मध्ये एक जनाले टिकट पाउनेछन । नेपाली कांग्रेसको तर्फबाट उपमेयर पाउने भएकाले त्यसमा पार्टीको महाधिवेशन प्रतिनिधि पवित्रा पुडासैनी भट्टले पाउने करिब निश्चित जस्तै भएको ती नेताले बताए ।

उनले केही दिनअघि तीन दलका नेताहरू बसेर गठबन्धनका विषयमा सहमति गरे पनि पालिका र वडाहरूको भागवण्डा औपचारिक रूपमा गर्न भने बाँकी रहेको छ । नुवाकोटमा कांग्रेसले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्ने नाममा १२ मध्ये तीन वटा पालिकामात्र माओवादी र समाजवादीलाई दिन सकिने बताएको छ । समाजवादीका लागि तारकेश्वर वा शिवपुरी मध्ये एउटा र माओवादीका लागि पञ्चकन्या गाउँपालिका दिने विषयमा कांग्रेसभित्र आन्तरिक छलफल चलेको छ ।
माओवादी र समाजवादीले भने वडा सदस्यसम्म नै भागवण्डा गर्नुपर्ने बताएको छ । उनीहरूले भागवण्डा पनि सम्मानजनक हुनुपर्ने बताएका छन । कांग्रेसले आफ्नोभित्र सहमति खोजेर गठबन्धनसँग बस्ने तयारी गरेको छ ।
नुवाकोटमा यसअघि कांग्रेसले ७ वटा पालिकामा चुनाव जितेको थियो भने माओवादीले दुईवटा पालिकामा चुनाव जितेको थियो । नेकपा एमालेले तीन वटा पालिकामा चुनाव जितेको थियो । अहिले गठबन्धनमा सामेल भएको अध्यादेशबाट जन्मिएको नेकपा एकीकृत समाजवादीको भने नुवाकोटमा तीन जना निर्वाचित वडा अध्यक्षमात्र रहेका छन । यद्यपी उसले पनि एउटा पालिका पाउने छ ।
माओवादीभित्र पनि बिद्रोहको आगो सल्किएको र नेपाली कांग्रेसमा माओवादी र समाजवादीलाई मत दिन्नौ भन्ने संख्या ठूलो रहेका कारण नुवाकोटमा एक्लै लड्ने एमालले उम्मेदवार चयनमा विवेक पुर्याउँदा नतिजा आफ्नोतर्फ पार्न सक्ने अनुमान पनि कतिपयले गरेका छन ।
यो पनि पढ्नुहोस्,
-नुवाकोटमा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन हुने, सहमतिमा हस्ताक्षर
-नुवाकोट माओवादीमा बिद्रोहः हितबहादुर विरूद्ध सामाजिक सञ्जालमै ‘मुर्दावाद !’ काे नारा
-माओवादीलाई मत नदिने जगदिश्वरको घोषणाको भोलिपल्टै रमेशले गठबन्धन गरे
-कागसँग तुलना गरेर कार्यकर्तालाई कारवाहीको चेतावनी दिएका हितबहादुर बिद्रोहको संख्याले डराए
–नुवाकोटका यी जनप्रतिनिधि पुनः उम्मेदवार हुन अयोग्य, निर्वाचन आयोगले तोक्यो योग्यता
प्रकाशित मिति : April 3, 2022 at 9:56 am









