१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

माओवादीलाई मत नदिने जगदिश्वरको घोषणाको भोलिपल्टै रमेशले गठबन्धन गरे

१८ चैत, नुवाकोट । नुवाकोटमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बीचमा गठबन्धन गर्ने सहमति भएको छ । बिहीबारमात्रै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, पूर्व जिल्ला सभापति जगदिश्वरनरसिंह केसी र गएको निर्वाचनमा सभापतिमा पराजित भएका डा केदारनरसिंह केसीले गठबन्धन नगर्न र कांग्रेसलाई एकतावद्ध बनाएर लैजान जिल्ला सभापति रमेश महतलाई सुझाव दिएका थिए तर आजै महतले माओवादी र समाजावादीका नेतासँग बसेर गठबन्धन गर्ने सहमति नै गरेका छन ।

केसी त्रयले कांग्रेस मिल्ने हो भने नुवाकोटमा १२ वटै पालिका जित्न अरूको सहयोग नचाहिने बताएका थिए । तर मतहले केसीहरूको कुरा नसुनेझैँ गरेर शुक्रबार सीधै गठबन्धनको सहमति गरेका छन । यद्यपी भागवण्डाका लागि तीनै पार्टीका नेताहरू फेरि बस्नेछन ।

केन्द्रीय नीति अनुसार जिल्लामा गठबन्धनको अधिकार पाएकाले नुवाकोटमा कांग्रेस, माओवादी र समाजवादीका नेताहरूले छलफल गरी प्रारम्भिक सहमति गरेर गठबन्धन गर्ने निर्णय गरेका छन । केन्द्रमा पाँच दलीय भए पनि नुवाकोटमा तीन दल मिल्ने भएका छन । नेपाली कांग्रेसका सभापति रमेशकुमार महत, नेकपा मओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र नेकपा एकीकृत समाजवादीका नेता गोविन्द नेपालीको बीचमा गठबन्धन गर्ने र बाँकी भागवण्डाका लागि पुन छलफल गर्ने सहमति भएको छ । उनीहरू तीनै जनाले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति नै जारी गरेका छन । जिल्लास्तरमा गठबन्धनको निर्णय गर्ने सम्भवतः नुवाकोट पहिलो जिल्ला बनेको छ ।

नुवाकोटमा पछिल्लो समय नेकपा एमालेप्रति जनताको लहर देखिएका कारण कांग्रेस नेतृत्व एक्लै लड्नबाट डराएको देखिएको छ । यसअघि नुवाकोटको १२ वटा पालिका मध्ये तीनमा नेतृत्वसहित एमाले, दुइमा माओवादी र ७ वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख जितेका थिए । कांग्रेसले विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकामा गठबन्धन गर्न जोड गरेको छ भने माओवादी र समाजवादीले सबै पालिका र वडामा गठबन्धन गरेर जानुपर्ने बताएको छ ।

प्रकाशित मिति : April 1, 2022 at 9:45 pm