३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

४१.४३ अंकले घट्यो सेयर बजार

१३ चैत, काठमाडाैँ । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.५९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ विन्दुमा पुगेको छ ।

यस दिन १३ उपसमूहमध्ये निर्जीवन बीमा बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। नेप्से घटे पनि आइतबार कारोबार रकम भने बढेको छ। यसदिन कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार सर्वाधिक कारोबार हुनेमा अपि पावर कम्पनी लिमिटेड रहेको छ । यसदिन अपि पावर कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आइतबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : March 27, 2022 at 4:05 pm