७ असार २०८३, आइतबार | Sun Jun 21 2026

चितवनमा कांग्रेस कार्यकर्ताले रूखमा भोट हाल्न नपाउने, एकबिहानै प्रचण्डले यसो भने

१० चैत, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका कांग्रेस कार्यकर्ताले फेरि पनि रूखमा भोट हाल्न नपाउने स्पष्ट संकेत गरेका छन । आगामी तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी प्रचण्डले गरेका छन ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक आज गृह जिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि नहुने उनले बताए ।

‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ उनले गत स्थानीय निर्वाचनमा जस्तै चितवनका कार्यकर्ताले यस पटक पनि रूखमा भोट हाल्न नपाउने कुराको स्पष्ट संकेत गरेका छन ।

चितवन कांग्रेसका पूर्व सभापति जितनारायण श्रेष्ठ लगायतले भने माओवादी कार्यकर्ता बनेर बस्न नसक्ने भन्दै अब कांग्रेसका कार्यकर्ताले रूखमै भोट हाल्न पाउनुपर्ने भन्दै अभियान नै चलाउँदै अाएका छन ।

भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु दाहालले पुनः एक पटक मेयरमा दोहोराउने इच्छा देखाएकी छिन । माओवादीले रेणुका लागि देशभरका अन्य सबै महानगर र उपमहानगरमा कांग्रेसका उम्मेदवारलाइ मत दिएर भरतपुरमा कांग्रेसको मत लिने तयारी गरेको छ ।

प्रकाशित मिति : March 24, 2022 at 9:06 am