पूर्व लडाकु खोज्दै एकाबिहानै वीर अस्पताल पुगे प्रचण्ड
८ चैत, काठमाडौँ । पूर्व लडाकूमाथि वेवास्ता गरेको आरोप लागिरहेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै पूर्व लडाकु भेट्न वीर अस्पताल पुगेका छन । उनले वीर अस्पतालमा पुगेर त्यहाँ उपचाररत पूर्व लडाकु भक्त रानालाइ भेटेको अध्यक्षका स्वकीय सचिव गंगा दाहालले जानकारी दिएकी छिन ।
गंगाले फेसबुकमा यस्तो लेखेकी छिन
अध्यक्ष कमरेड प्रचण्ड आज बिहान वीर अस्पतालमा पुगि काभ्रे महाभारत गाउँपालिका ६ का पुर्व जनमुक्ति सेनाका योद्धा(सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनु भयो।
मकवानपुरको झुरझुरेमा घाइते हुनु भएको राना शान्ति प्रक्रिया पछि वाइसीएलको जिम्मेवारी रहि काम गर्दै आउनु भएको थियो। टाउकोमा लागेको चोट बल्झिएपछी उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसको कारण दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको अस्पतालले जनाएको छ।
अहिले उहाँको परिवार, महाभारत गाउँपालिका, पार्टी र सुभेच्छुकहरुको सहयोगले उहाँको उपचार भैरहेको छ। भेटको क्रममा अध्यक्ष कमरेडले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने, ७ बर्षको बच्चाको पढाई र मेडमको रोजगारीको लागि पहल गर्ने बताउनु भएको छ।
यस्तो गम्भीर अवस्थामा पनि भक्त र उहाँको परिवारको पार्टी र नेतृत्वप्रतिको दृढ विश्वासले हामीलाई नि प्रेरित गरेको छ। कमरेड भक्तको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
प्रकाशित मिति : March 22, 2022 at 9:19 am









