चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष ओली
७ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे ।
‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘तीन जनाको नियुक्ति बदर गर्ने र दुई जनाको मात्र उपस्थितमा निर्वाचन हुन सक्दैन भन्ने षडयन्त्र भइरहेको छ । ’उनले अघि भने, ‘षडयन्त्रको विल भर्पाइ हुँदैन । त्यसकारण यसको प्रमाण छ भन्ने हुँदैन ।’

अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङको टुंगो लगाएको आरोप समेत लगाएका छन् । एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ । ‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’
एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए । आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।
प्रकाशित मिति : March 21, 2022 at 1:19 pm









