माओवादी परित्याग गरेका सांसद विष्ट भोलि एमाले प्रवेश गर्ने
५ चैत, सुर्खेत । नेकपा माओवादी केन्द्र परित्याग गरेका सांसद ठम्मर बिष्ट नेकपा एमालेमा प्रवेश गर्ने भएका छन । सांसद विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत आउने निश्चित भएको एमालेले जनाएको छ । वीरेन्द्रनगरमा भोली आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बिष्टलाई पार्टी प्रवेश गराउने निश्चित भएको एमालेले जनाएको छ ।
बिष्टसंगै नेकपा माओवादी केन्द्रका अन्य जिल्लास्तरीय नेताहरू पनि एमाले प्रवेश गर्ने तय भएको छ । विष्ट एमाले प्रवेश गरे लगत्तै सुर्खेतको पूर्वी क्षेत्रमा माओवादीको तर्फबाट कमिटीहरू एमालेमा समाहित गर्ने तयारी भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेश सभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
कर्णाली प्रदेशसभाका प्रमुख संचेतक समेत रहेका सांसद ठम्मरबहादुर विष्टले एमसीसी पारित गरिनु, आफूले पार्टी छोड्नुको मूख्य कारण रहेको जिकिर गरेपनि उनी अध्यक्ष प्रचण्डको बचन अनुसार आफूलाई प्रदेश सरकारमा मन्त्री नबनाइएकोमा रुष्ट थिए । प्रचण्डले उनको ठाउँमा हुम्लाका गैर–सांसद र यसअघि मूर्ति चोरीको अभियोगमा जेल परेका कार्चेन लामालाई मन्त्री बनाएपछि उनी प्रचण्डप्रति रुष्ट थिए ।

बिष्टले नेकपा विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा अर्थात एमालेमा लागेका थिए । उनलाई एमालेको केन्द्रीय सदस्य नै बनाइएको थियो । उनले राजा महेन्द्र पछिको राष्ट्रबादी ब्यक्ति केपी ओली नै भएकाले आफू ओलीतिर लागेको बताएका थिए । तर, ०७७ चैत्र –१ मा उनी प्रचण्ड कहाँ पुगेर आफू पार्टीभित्रैबाट पीडित भएको बताएका थिए । त्यसपछि प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपछि उनी माओवादीमा फर्किएका थिए ।
प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएपनि विष्टलाई पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री नबनाई मुख्य सचेतकको जिम्मेवारी दिएका थिए । शाहीले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि उनलाई मन्त्री बनाएनन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुँदा पनि उनको हुने चर्चा थियो । तर, गैर–सांसदलाई मन्त्री बनाएपछि विष्ट गठबन्धनविरुद्धमा उत्रिएका थिए ।
प्रकाशित मिति : March 19, 2022 at 8:51 pm









