राजनीतिमा असम्भव केही हुँदैन, कांग्रेसले लखेट्न थाले एमालेसँग तालमेल हुन्छः प्रचण्ड
३ चैत, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको बताएका छन् । उनले प्रतिपक्षी एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताए ।
लुम्बिनी प्रदेशको राजधानी बुटवल पुगेर प्रचण्डले भने, ‘अहिले हामी गठबन्धनमा छौं । तत्काल एमालेसँग गठबन्धनको सम्भावना छैन । तर, राजनीतिमा असम्भव केही हुँदैन ।’
उनले भने, ‘कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब उहाँहरुलाई बोल्न बन्द गर भन्नुभएको छ । यदि कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिन्न ।’
प्रचण्डले गठबन्धनविरोधी अभिव्यक्ति कांग्रेसका दोस्रो तहका केही नेताहरूले दिने गरे पनि प्रधानमन्त्रीसमेत रहेका सभपाति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका छन् । निर्वाचनअघि र पछि पनि गठबन्धनलाई कायम राख्नेमा देउवा सकारात्मक रहेको प्रचण्डले बताए । कांग्रेस र उक्त पार्टीका दोस्रो तहका नेताहरूलाई लक्षित गर्दै भने, ‘विभिन्न पार्टीमा विभिन्न धार र अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । तर, गठबन्धनमा रहेका पार्टीहरू निर्वाचनमा तालमेल गर्ने मामिलामा चाहिँ नेतृत्वहरूमा कहीँकतै विमती देखिएको छैन ।’
प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षका लागि गठबन्धन बनेको बताए । गठबन्धनको आवश्यकता निर्वाचनअघि र पछिसम्मै रहने भएकोले गठबन्धन जारी रहने उनको भनाइ छ ।

यस्तै, निर्वाचन तोकिएकै समयमा सरकारले गर्ने पनि उनले बताए । निर्वाचनको विषयलाई लिएर आज बिहान प्रधानमन्त्री देउवा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र आफूबीच छलफल भएको बताए ।
छलफलको क्रममा प्रधानमन्त्रीले निर्वाचन नहुने भ्रम फैलाएको भन्दै चिन्ता व्यक्त गरेको प्रचण्डले बताए । ‘निर्वाचनको तयारीमा हामी तागत लगाएर गइनै सक्यौँ । तर, फेरि निर्वाचन हुँदैन भन्ने हल्ला चलिनै राख्छ प्रधानमन्त्रीजीले भन्दा भोट हाल्ने दिन पनि हुँदैन भनिरहन्छन् भन्यौं’, प्रचण्डले भने । निर्वाचनमा माओवादी केन्द्र आफ्नै एजेण्डको तागतमा निर्वाचन जाने तर सहायक रूपमा तालमेल गर्नेबारे पनि सोचिने बताएका छन् ।
प्रकाशित मिति : March 17, 2022 at 12:58 pm









