कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित
२ चैत, झापा । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् ।
जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको सङ्क्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताउनुभयो ।
“कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे”, उहाँले भन्नुभयो, “अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो ।” योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १० कठ्ठामा सुरू गरेको फार्मले बेर्ना लगाएको सात महिनादेखि नै आम्दानी दिन सुरू गरेको थियो । सुरुका दिनमा प्रतिकिलो रु एक हजार ४०० मा बिक्री गरेको कुरिलो हाल थोक मूल्य रु ४०० ले बिक्री गरिरहेको किसानको भनाइ छ ।
योङहाङले दैनिकजसो उत्पादन हुने कुरिलो स्थानीय बजारमा मात्र खपत नहुँदा र जिल्ला बाहिर बजारको विस्तार गर्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले अन्य तरकारीमा जस्तो कुरिलोमा रासायनिक मलको प्रयोग नभइ पिना, गोबर मल, कुखुराको सुली लगाइने हुँदा शतप्रतिशत जैविक हुने भए पनि अन्य तरकारीको तुलनामा महँगो हुँदा उपभोक्ता खासै आकर्षित नभएको बताउनुभयो ।
उहाँले मेहनत गरेर उत्पादन गरेको कुरिलोको टुसा नाश हुन नदिनका लागि सस्तो दरमा बजारमा बिक्री गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । “खेर जान दिनुभन्दा त सस्तो मूल्यमा बिक्री गरे पनि थोरै आम्दानी त हुन्छ”, उहाँले भन्नुभयो, “निराश छैनौँं बजारको खोजीमा छौं, कुरिलोको गुण र महत्वका बारेमा पनि उपभोक्तालाई जानकारी गराइरहेका छांैं ।”
प्रकाशित मिति : March 16, 2022 at 11:45 am









