११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

सरकार जनगुनासो सम्बाेधन गर्दै अघि बढ्छः प्रचण्ड

२६ साउन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज प्रेस सेन्टर र प्रेस चौतारी नेपालको संयुक्त पत्रकार भेटघाटका क्रममा उहाँले आएका गुनासोलाई सम्बोधन गरिने आश्वासन दिनुभयो । अध्यक्ष दाहालले सरकारको कामको बेलाबेलामा समीक्षा गर्दै जनआवाजलाई सम्बोधन गर्दै जानु पार्टी र सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

“चाहे करको विषयमा हो या मूल्यवृद्धि, जनताको चिन्ता हामीले सुनेका छौँ, त्यसलाई सम्बोधन गर्ने उपायको खोजी भइरहेको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “सरकार गम्भीर छ, पार्टी नेतृत्व पनि जनता र सांसदको गुनासो एवं चिन्ताप्रति गम्भीररूपले समीक्षा गरिरहेका छौँ ।” देश संघीयतामा गएको जनतालाई सेवा दिन र अधिकार सम्पन्न बनाउनका लागि भएको जिकिर गर्दै उहाँले यसप्रति पार्टी चिन्तित रहेको बताउनुभयो ।

करवृद्धिको विषयमा संघीयता समस्यामा पर्न गयो भन्ने कुरा आफूले कहीँ पनि नबोलेको जिकिर गर्दै अध्यक्ष दाहालले बाइसे–चौबिसे जस्तो बनाउन खोज्ने र अलोकप्रिय बनाउन खोज्ने कतैबाट प्रयास भइरहेको त छैन भनेर आफूले बोलेको स्पष्ट पार्नुभयो । अहिलेको काम कारबाही हेर्दा व्यवसायी र जनताको पनि प्रश्न हेर्दा अब स्थानीय कर प्रादेशिक कर र केन्द्रीय कर भनेर करैकर थोपर्न थालियो भने त्यसले संघीयता कार्यान्वयन गर्न अप्ठ्््यारो पर्छ भनेर आफूले बोलेको दाहालको स्पष्टोक्ति थियो ।

नेपालमा अहिले नयाँ राजनीतिक प्रयोग भएकाले पनि केही अप्ठ््यारो स्वभाविक देखिएको उहाँले बताउनुभयो । केही पुरानो सोच र मान्यताले प्रादेशिक सरकारलाई अधिकार सम्पन्न र गतिशील बनाउनुपर्नेमा हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।विप्लव नेतृत्वको  नेकपाप्रति सरकार आक्रामक भएको भन्ने कुरा गलत भएको हो भन्दै अध्यक्ष प्रचण्डले सबैसँग सहकार्य र संवादबाट निकास निकाल्न चाहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बितन्डा मच्चाएर, मान्छेलाई आतंकित पारेर अहिलेको बदलिँदो परिस्थितिमा केही हुन्छ भनेर सोच्नु साह्रै ठूलो अज्ञानताबाहेक केही होइन ।”

छिमेकी देशको भ्रमणका क्रममा दुई देशबीच सकारात्मक वातावरण बनाउने र सहयोग जुटाउने आफ्नो प्रयत्न रहने उहाँले जानकारी दिनुभयो । उहाँले प्रधानन्यायाधीशको विषयमा संसद्को सर्वाेच्चतालाई स्थापित गर्न संसदीय सुनुवाइ समितिमा उजुरी पर्नु बढी लोकतान्त्रिक भएको दावी गर्दै पहिलाको परम्परा अधिनायकदावी हो भन्नुभयो । पत्रकार भेटघाटका क्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई चुस्त बनाउन मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार १२:३२