प्रचण्ड र माधवले एमसीसीको पक्षमा मतदान गर्ने, सडकमा परिचालित कार्यकर्ता जिल्लाराम
१५ फागुन, काठमाडाैँ । अन्ततः नेकपा माओवादी (केन्द्र) र नेकपा एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्ने निष्कर्षमा पुगेका छन । सत्ता गठबन्धन जोगाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार अबेरसम्म प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलमा आफूहरूले एमसीसीको पक्षमा मतदान गर्ने निष्कर्ष सुनाएका छन ।
उनीहरूले सत्ता गठबन्धन थप बलियो बनाउन पनि एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने भन्दै त्यसमा सहमत भएको र आइतबार आआफ्नो दलको बैठक बसेर अनुमोदनको निर्णय गर्ने जानकारी दिएका छन । सत्ता गठबन्धनले नागरिकमा भ्रम छर्न संशोधन नहुने एमसीसीका बुँदाका बारेमा एकपक्षीय व्याख्या गरेर अनुमोदन गर्ने अन्तिम तयारी गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्ताव अनुसार सत्तारूढ गठबन्धन एमसीसी अनुमोदनमा सहमत बनेका छन । उनीहरूले संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्ने निष्कर्ष निकालेका थिए । अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ को समयसीमा दिएको छ ।
यता सडकमा उफ्रिरहेका माओवादी र समाजवादीका कार्यकर्ता भने जिल्ला पर्ने भएका छन । एमसीसी कुनै पनि हालतमा अनुमोदन हुनुहुँदैन भनेर सडकबा बार र पेटीको ढुंगासमेत झिकेर प्रहरीमाथि आक्रमण गरेर क्रान्तिकारीपन देखाइरहेका कार्यकर्ता प्रचण्ड र माधवको निर्णयले जिल्लाराम हुने भएका छन ।
प्रकाशित मिति : February 27, 2022 at 8:45 am









