एमालेले एमसीसीबारे आफ्नो धारणा सदनभित्रै राख्छ : योगेश भट्टराई
१४ फागुन, उदयपुर । नेकपा एमालेका सचिव तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमसिसीबारे एमालेले औपचारिक धारणा संसदभित्र राख्ने बताएका छन् ।
प्रेस चौतारीले उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा भभने, ‘पहिला संसद् सामान्यरूपमा सञ्चालन हुने वातावरण सरकारले बनाउनुपर्छ तबमात्रै एमालेले आफ्नो औपचारिक धारणा सदनमा राख्छ ।’
एमालेले एमसिसीको विषयमा सहयोग गर्नुपर्ने भए पहिला आफूहरूले सदन चल्नका लागि माग गरेका विषयलाई सरकारले सम्बोधनसहित संसद् सञ्चालन हुने वातावरण बनाउनुपर्ने र त्यसपछि मात्रै एमालेले आफ्नो धारणा स्पष्ट राख्ने भट्टराईले बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिए पनि सरकारले निर्वाचन तयारीका लागि कुनै काम सुरु नगरेका कारण समयमा निर्वाचन सम्पन्न नहुने आशङ्का रहेका कारण एमालेले यसमा खबरदारी गरिरहेको धारणासमेत राखेका छन् । उक्त कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा पूर्व सहरी विकास राज्यमन्त्री मन्जुकुमारी चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा र जिल्ला पार्टी अध्यक्ष परमेश्वर घिमिरेको उपस्थिति थियो ।
प्रकाशित मिति : February 26, 2022 at 7:24 pm









