२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

कृषि विश्वविद्यालयको कुर्सी खरिदमा भ्रष्टाचार, अख्तियारले थाल्यो विषेश अनुसन्धान


१२, फागुन, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भएको कुर्सी खरिद प्रकरणमा लाखौंको घोटाला भएको भन्दैं परेको उजुरी माथि अख्तियारले विषेश अनुसन्धान अगाडि बढाएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाले कुर्सी तथा फर्निचर खरिदमा भएको घोटलाको प्रारम्भिक अनुसन्धानबाट कैफियत देखिएपछि विषेश अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता विष्णुप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानबाट खरिदमा कैफियत देखिएपछि अनुसन्धान अधिकृत तोकेर विषेश अनुसन्धान थालिएको बताए । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आएको अख्तियारको चार जनाको टोलीले तीनदिन देखि बसेर खरिद सम्बन्धी कागजपत्र तथा कुर्ची, सोफाको विवरण संकलन गरेको छ । ३ वर्ष पहिले २ करोड २१ लाख ९ हजार ६ सय ३० को फर्निचर खरिदमा घोटला भएको भन्दै परेको उजुरीमा अख्तियारले अनुसन्धान गर्दै आएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय, मल्टिप्रपोज हल तथा आंगिक क्याम्पसहरुका लागि भन्दैं करीव २ सय ९० थान कूर्चि सोफा खरिद गर्दा भ्रष्टाचार भएको स्रोतको दाबी छ । डेढ वर्षदेखि अनुसन्धान चलिरहेको सो मुद्धामा अख्तियारले बेलाबखत बयान समेत लिदै आइरहेको छ ।

कुर्सी सोफा खरिद गरेको केही महिना मै कामै नलाग्ने गरी धुलाम्मे भएपछि भ्रष्टाचार भएको आशंका गरिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा समेत फर्निचर आपूर्तिकर्ताले म्याद समाप्त भैसकेपछि मात्र फर्निचर आपूर्ति गरेको तथा १०४ थान फर्निचर आपूर्ति नगरेकोले रू ४० लाख ७१ हजार पूर्वनिर्धारित क्षतिपूर्ति असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।

फर्निचर खरिदका लागि तत्कालिन खरिद कमिटीका संयोजक एबम् रजिष्ट्रार मनराज कोलाक्षपति, योजना निर्देशनालयका प्रमुख अर्जुन श्रेष्ठ, तत्कालिन स्टोर प्रमुख अचल शाक्य, खरिद शाखा प्रमुख बुद्धिनाथ ढुंगाना, लेखा प्रमुख विष्णु देवान, इन्जियनियर यज्ञबहादुर बस्नेत र आमन्त्रित सदस्य छवि पौडेल संलग्न भएको भन्दै उजुरी परेको थियो । उनीहरुले पटकपटक अख्तियार कार्यालयमा गएर बयानसमेत दिइसकेका छन् । अचल शाक्य अहिले कृषि संकायको प्रशाशन प्रमुख छन् भने ढुंगाना विश्वविद्यालयको कामु प्रशासक भएका छन् ।

उनीहरूको मिलेमोतोमा सप्लार्यस बंगलामुखी–बीरा जे.भीले २०७४ चैत्र २० मा फर्निचर सप्लाई गरेको थियो । तोकिएको परिमाणभन्दा कम र गुणस्तरसमेत कम राखेर महंगो मूल्यमा फर्निचर खरिद गरेको देखिएको छ । सो सप्लार्यस कम्पनीले २०७५ असार २४ मा बील पेश गरेर २ करोड २१ लाख ९ हजार ६ सय ३० भुक्तानी लिएको थियो । फर्निचरहरू सप्लाई गर्न कति दिनको म्याद दिई कार्यादेश दिइएको हो सो कुरा उल्लेख गरिएको छैन । तत्कालिन स्टोर प्रमुख अचल शाक्यले आपूर्ती नै नभएको परीमाण आपूर्ति भएको भनेर ‘इन्ट्री’ गरेका थिए ।

तोकिएको संख्याको फर्निचर सप्लाई नै नगरी स्टोर इन्ट्री गरेको देखाएर सप्र्लायसलाई भुक्तानी दिइएको थियो । सप्लायर्सले पेश गरेको बीलमा फर्निचरहरु कुन साइजका हुन् सम्झौताको दररेट कतै उल्लेख गरिएको छैन । आपुर्ती भएका फर्निचन तोकिएको डिजाइन र साइज अनुसार ठिक छन् भन्ने समेत कतै उल्लेख नगरी प्राविधिकको दस्तखत मात्र गरेको पाइएको छ ।

रकम भुक्तानीका लागि २०७५ साउन ३० गते स्वीकृत अपुरो बिल भरपाइ बिना उठाइएको टिप्पणी र आदेशको भरमा करोडौंको रकम भुक्तानी दिइएको थियो । भुक्तानी दिनु अघि सप्लायर्सले पेश गरी परामर्शदातावाट नाप जाँच गरी निरिक्षण कमिटीले समेत निरिक्षण गरेर बीलको रकम भुक्तानी दिन सिफारिस गरिएको छ तर भुक्तानी दिँदा निरिक्षण कमिटिको सिफारिस संलग्न गरिएको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १२:५५