१० असार २०८१, सोमबार | Mon Jun 24 2024

कुटनीतिक क्षमता नभएका व्यक्ति हावी हुँदा भारतसँगको सम्बन्ध बिग्रियोः परराष्ट्रविद् आचार्य


१५ वैशाख, काठमाडाैँ । परराष्ट्रविद् जयराज आचार्यले सरकारमा कुटनीति सञ्चालनमा क्षमता नभएका व्यक्ति हावी हुँदा नेपालले छिमेकी राष्ट्र भारतसँगको सम्बन्धमा गम्भीर त्रुटी गरिरहेको बताउनुभएको छ । दुई ठूला शक्तिराष्ट्रको बीचमा रहेको देशले कुटनीतिज्ञको नियुक्ति र कुटनीति सञ्चालनको ढाँचामा परिवर्तन गर्नुपर्ने आवश्यकता भइसकेको उहाँले बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अब राजदूत नियुक्तिको मापदण्ड नै परिवर्तन गर्नुपर्ने बेला भैसकेको बताउनुभएको छ ।

भारतसँगको सम्बन्ध बिग्रिनु गम्भीर

नेपालको कुटनीतिक सामथ्र्य पछिल्लो समयमा निकै खस्किएकोमा आचार्य चिन्तित हुनुहुन्छ । अहिले नेपालले भारतसँगको सम्बन्धबाट फाइदा लिनसक्ने अवस्था नदेख्ने आचार्य नेपालको परराष्ट्र नीतिको चुनौती भनेकै भारतसँगको बिग्रेको सम्बन्ध सुधार्नु भएको उल्लेख गर्नुभयो ।

‘भारतसँगको हाम्रो सम्बन्ध अहिले नराम्रोसँग बिग्रिएको छ ।’ नेपालको राजदुत भइसक्नुभएका भारतीय कुटनीतिज्ञ श्यामशरणले आफ्नो पुस्तकमा भारतको पाकिस्तान, चीन र नेपालसँग सम्बन्धमा समस्या रहेको कुरा लेखिएको भन्दै नेपालबारे यस्तो कुरा आउनु धेरै गम्भीर कुरा भएको उहाँले बताउनु भयो ।

‘भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, रोटिबेटी, भाषा, धर्म संस्कृति, भुगोल, व्यापार वाणिज्य शिक्षा स्वास्थ्य यावत सम्बन्ध हुँदाहुँदै पनि सम्बन्ध बिग्रनु र उसले छिमेकीमध्ये यी देशसँग सम्बन्धमा समस्या छ भनेर लेख्नु गम्भीर कुरा हो,’ उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने प्रधानमन्त्री राष्ट्रपति जस्तो उच्चतम राजनीतिक स्तरबाट यसमा ठूलो होमवर्क हुनुपर्ने छ । यो धेरै बिग्रिएको अवस्था म देख्छु । भारतबाट सहयोग पाइएन (विश्व स्वास्थ्य संगठनको चुनावमा) भन्ने कुरामा मलाई कुनै आश्चर्य होइन । पाइएन मात्र होइन भविष्यमा पनि (सम्बन्ध सुधार नहुँदासम्म) पाइँदैन ।’ आचार्यले बीपी तथा महेन्द्रका पालामा नेपालले कुटनीतिक महत्व पाउनुमा दुवैको व्यक्तित्वले असर गरेको बताउनु भयो ।

कुटनीतिज्ञमा हुनुपर्ने तीन गुण

२०४८ देखि ५१ सालसम्मको महत्वपूर्ण कालखण्डमा देशको नेतृत्व सम्हाल्नुभएका आचार्यको अनुभवमा कोही पनि कुटनीतिज्ञ असल हुनु र नहुनुमा तीन कुराले प्रभाव पार्दछ । ‘अध्ययन अनुभव र राष्ट्रप्रेमका आधारमा राजनीतिज्ञ भन्नुस् वा कुटनीतिज्ञ प्रभावशाली हुने यी तीन आधार हुन् । जोसँग यी बढि भयो त्यही प्रभावशाली हुन्छन्,’ उहाँले भन्नुभयो ।

कोही व्यक्ति कुटनीतिज्ञका रुपमा प्रभावशाली बन्न देशको भुगोलले प्रभाव नपर्ने भन्दै उहाँले यदुनाथ खनालको उदाहरण दिनुभयो । कुटनीतिज्ञको पद अथवा देश भन्दा पनि व्यक्तिको क्षमताले सफल हुने वा नहुने भन्नेकुरा निर्धारण गर्ने आचार्यले बताउनु भयो ।

भुगोलका आधारमा नेपालको कुटनीतिक महत्व धेरै

नेपालभन्दा साना देश एक सय भन्दा बढी रहेको प्रसंग निकाल्दै उहाँले नेपालको भुगोलका आधारमा यसको कुटनीतिक महत्व अझ धेरै रहेको बताउनु भयो । ‘हाम्रो अझ महत्व के छ भने शक्तिशाली देश चीन र भारतको बीचमा छौं । हाम्रो रणनीतिक भौगोलिक स्थिति महत्वपूर्ण छ । त्यस दृष्टिले नेपालको कुटनीतिज्ञले विश्वमै प्रभाव पार्ने खालको भुमिका खेल्नसक्छ,’ उहाँले भन्नुभयो ।

‘उहाँ (यदुनाथ खनाल) सन् १९६३ को जनवरीदेखि भारतमा नेपालको राजदुत भएर जानुभयो । त्यतिबेला नेपाल र भारतको सम्बन्ध अफ्ठेरोमा थियो । त्यतिखेर उहाँले भनेका कुराहरु स्टेट्सम्यान, टाइम्स अफ इण्डियामा छापिन्थ्यो,’ उहाँले भन्नुभयो, ‘केनथ ग्याल्ब्रेथ (तत्कालीन भारतका लागि अमेरिकी राजदुत)ले भन्थे रे, ‘तिमिले त सबै भारतको मिडिया डोमिनेट गर्याजस्तो छ’ भनेर । शक्ति राष्ट्रको दुतको प्रभाव स्वतः हुने भएपनि सानै देशको राजदुत पनि यदि सक्षम छ भने उसले प्रभाव राख्ने उहाँको निस्कर्ष छ ।

परराष्ट्रविद् जयराज आचार्य । तस्बिरः न्युज एजेन्सी नेपाल

तर नेपाल आर्थिक र सामाजिक हिसाबले आत्मनिर्भर नहुँदा कुटनीतिमा सफल हुन नसकेको उहाँको तर्क छ । ‘सानो देश स्विजरल्याण्ड जनसंख्याका हिसावले नेपालभन्दा ५ गुणा र भुगोलमा ३ गुणा सानो छ,’ विभिन्न द्वन्द्व र विश्वयुद्धका समयमा समेत विपरित धारका देशहरुबीच उसले खेलेको मध्यस्थताको भुमिका सम्झँदै आचार्यले भन्नुभयो,‘उनीहरुले किन गर्न सक्छन् भने सामाजिक आर्थिक स्थिति राम्रो छ । त्यसैले कुटनीतिमा सफल हुन आन्तरिक रुपमै हाम्रो विकास गर्नुपर्छ । सकेसम्म आत्मनिर्भर हुनुपर्छ ।’

राष्ट्रसंघीय शान्तिसेनामा भूमिका यसरी बढ्यो

अहिले नेपाल संयुक्त राष्ट्रसंघमा सबैभन्दा धेरै सेना पठाउने देशमा पर्छ । बंगलादेशको सैनिक मिसन घटेपछि नेपाल अहिले सबैभन्दा धेरै शान्ति सैनिक खटाउनेमा पर्छ । तर शुरुमा यस्तो अवस्था थिएन । आचार्य स्थायी प्रतिनिधिका रुपमा जाँदा राष्ट्रसंघमा नेपालको योगदान एक हजार पनि अपुग थियो । नेपालको सैनिक करिव ४६ हजार हुँदा त्यसबेला देशमा माओवादी सशस्त्र संघर्ष शुरु भइसकेको थिएन । ‘जम्मा आठ सय ८१ जनाले मात्र लेबनानमा युनिफिलमा जवानले काम गरेको अवस्था थियो,’ आचार्य सम्झनुहुन्छ, ‘हाम्रो सेनालाई यत्तिकै राख्नभन्दा शान्ति सेनामा बढाऔं भनेर तीन गुणा बढाइयो ।’

सैनिक संख्या बढेसँगै आफूले त्यसैका आधारमा थालेको कुटनीतिक अभ्यासका कारण पहिलो पटक मेजर जेनरल कृष्णनारायणसिंह थापालाई युएन मिसनको फोर्स कमाण्डर बनाएर इजरायल पठाइएको आचार्य स्मरण गर्नुभयो । आफ्नै कार्यकालमा राष्ट्रसंघको योगदानकै आधारमा मानवअधिकार समितिमा पहल गरेर गणेशमान सिंहलाई नेल्सन मण्डेलाले पाएको मानव अधिकार पुरस्कार दिलाइएको उहाँले स्मरण गर्नुभयो । ‘उहाँ पनि हाम्रो नेल्शन मण्डेला हो भनेर मानव अधिकार समितिमा भन्दा पुरस्कार पाउनुभयो,’ उहाँले भन्नुभयो, ‘प्रो एक्टिभ भयो भने केही गर्न सकिन्छ ।’

अस्थिरताले राष्ट्र संघमा कमजोर प्रभाव
सुरक्षा परिषद्मा दुई पटकसम्म सुरक्षा परिषद्मा निर्वाचित भएको नेपाल कुनै समय मानवअधिकार परिषद्मा पनि पुगेको थियो । तर पछिल्लो समय हेर्ने हो भने राष्ट्रसंघीय निकायमा नेपालको उपस्थिति कमजोर देखिन्छ । हालै भएको विश्व स्वास्थ्य संगठनको निर्वाचनमा पनि नेपाली उम्मेदवार पराजित भए । यसबाहेक ठूला पदमा उम्मेदवारी दिने आँटसमेत नेपाली नेतृत्वले गर्न सकेको छैन । किन त ? आचार्यले भन्नुभयो, ‘यो आन्तरिक राजनीतिको कमजोरी हो । हामीले फोकस्ड डाइरेक्सन दिएर पठाउने कुरामा पनि कमजोरी भएको छ । ४८ पछि ३२ वर्षमा ३० वटा सरकार बनेको छ । व्यवस्था नै परिवर्तन भएको छ । यो अस्थिरताको बीचमा हाम्रो कुटनीतिक विश्वसनियता कम हुने अवस्था छ ।’

विगतमा दुई पटक निर्वाचित भए पनि बहुदल आएको ३४ वर्षमा पनि सुरक्षा परिषद्मा पुग्न नसक्नुमा आचार्य आन्तरिक क्षमता र गृहकार्य नपुगेकोलाई नै जोड दिनुहुन्छ । विदेशी भ्रमण खुम्चियो, गृहकार्य नहुँदा भारत चीनका भ्रमणबाट पनि लाभ लिन सकिएन

‘रुसका राष्ट्रपति ख्रुस्चेभले बीपीलाई होटलमा आएर ३ पटक भेटेका छन्, भारतका प्रधानमन्त्री नेहरुले २ पटक आएर भेट्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘राजा महेन्द्रले २०२४ अमेरिकी दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको इतिहास छ । नेपालको रणनीतिक अवस्था, कोल्ड वार र हाम्रो कुटनीति मिसिएर हामीले गौरव सम्मान हासिल गरेका थियौं ।’

विगतमा बेलायती रानी एलिजाबेथले २ पटक, जर्मन चान्सलर हेल्मुट कौल तथा फ्रान्सका राष्ट्रपति आएपनि अहिले त्यस्ता ठूला भ्रमण नहुँदा नेपाललाई महत्व नदिएको देखिएको भारत र चीनबाट भ्रमण वृद्धि भएपनि हाम्रो तयारी नपुग्दा महत्वपूर्ण भ्रमणबाट लाभ लिन नसकेको कुटनीतिज्ञ आचार्यले बतउनु भयो ।

भारतको नाकाबन्दी रोक्न सकिन्थ्यो
‘उल्टो सम्बन्ध बिग्रेको छ, मोदी आए पछि संविधान ल्यायौं । तर भारतको असहमति भएपछि ब्लकेड भयो । ५÷६ महिना जनताले दुःख पाएपछि भारतले अति भयो भनेर हटायो । त्यो ज्यादै गम्भीर कुरा हो नि ।’ उहाँले भन्नुभयो । नेपालको कुटनीति परिपक्व भएको भए भारतले लगाएको नाकाबन्दी रोक्न सकिने तर्क गर्दै आचार्यले भन्नुभयो, ‘हामीले यस्तो संविधान बनाउँछौं । त्यो भारतको विरोधमा होइन ब्लकेडको आवश्यकता छैन नगर्नुहोला भनेर पहिल्यै क्यालकुलेट गरेर प्रष्ट भन्न सक्नुपथ्र्यो ।’

उहाँ यस्ता मामिलामा यदुनाथ खनालको कुटनीतिक कौशलता स्मरण गर्नुहुन्छ । ‘(महेन्द्र)को डिक्टेटरशीपपछि पनि राजाले जुन कदम लिए, त्यो आन्तरिक राजनीतिक प्रक्रियाको उपज हो र यो भारतविरोधी होइन भनेर कन्भिन्स(उहाँले) गर्नुभएको थियो । पछि नेहरुले पनि हो भन्न्ुभयो,’ उहाँले भन्नुभयो । उहाँले यदुनाथ खनालको परिपक्व कुटनीतिकै कारण भारतको विभिन्न विषयमा असहमति हुँदाहुँदै पनि शिक्षा, यातायायत आदि क्षेत्रमा सहयोग गरिरहने अवस्था खराब सम्बन्धकै समयमा पनि पञ्चायतकालमा बनेको टिप्पणी गर्नुभयो ।

इपीजी रिपोर्टमा गम्भीर त्रुटी
कुटनीतिज्ञ आचार्य सही र यथार्थपरक ढंगले अघि बढ्न नसक्दा नेपाल भारत सम्बन्धमा समस्या देखिएको बताउनुहुन्छ । ‘प्रधानमन्त्रीको (भारत)भ्रमणमा सीमा, सन् ५० को सन्धी र इपीजी रिपोर्टका विषय राख्दा महोल बिग्रन्छ भनेर एजेण्डामै नराखेको भनेर प्रधानमन्त्रीले भनेजस्तो लाग्छ,’ उहाँले भन्नुभयो । ‘एस जयशंकर आउँदा पनि नराख्ने(विवादित विषय) कुरा भयो भनेर अनौपचारिक रुपमा सुनें । तर यी झन् गम्भीर कुरा हुन् ।’

इपीजी प्रतिवेदन तथा चुच्चे नक्शाजस्ता विषय पहिल्यै भारतले मान्छ कि मान्दैन भनेर कदम चाल्नुपर्ने भन्दै विगतमा भारतको विश्वास जितेर चीन सीमाबाट वायरलेस सेटसहितका सैन्य पोष्ट हटाउँदा नेपालले त्यसै गरेको स्मरण गर्दछन् । ‘सैन्य पोष्ट चेकपोष्ट, वायरलेस अपरेटरलाई फिर्ता पठाउने कुरा झनै गम्भीर थियो । २७ वर्ष बसेको फिर्ता पठाउनु त भारतको सुरक्षा दृष्टिकोणबाट झनै गम्भीर कुरा थियो नि, तर हामीले यतिखेर कुरा गर्दा भारत मान्न तयार हुन्छ भनेर परिस्थितीको क्यालकुलेसन आकलन गरेर कुरा गरियो । र सफल पनि भयौं ।’ उहाँले भन्नुभयो ।

इपीजी गठन गर्दा नै कमजोरी
इपीजी प्रतिवेदन तयार भएको लामो समयसम्म पनि भारतले बुझ्न नमान्नुमा गठनअघि नै गलत आँकलन भएको प्राडा आचार्यको बुझाइ छ । ‘म साधारण मान्छेलाई त त्यो (इपीजी प्रतिवेदन) भारतले स्वीकार गर्दैन भन्ने लागेको थियो । उनीहरुको परम्परागत दृष्टिकोण हेर्दा त्यो लागेको थियो,’ उहाँले भन्नुभयो । त्यो भारतले नमान्ने भन्दै उहाँले अहिले अवकाशप्राप्त प्राध्यापक भएपनि एसडी मुनिको कितावमा पनि उल्लेखित प्रसंगले भारत सरकारको प्रतिनिधित्व गर्ने बताउनु भयो । भारतले आफ्नो रणनीतिक स्वार्थमा असर पर्ने यस्ता कुरा मान्दैन भन्नेकुरा नबुझिकन परिस्थिति आँकलन नगरिकन भावनात्मक रुपमा माग राखेर नहुने भन्दै अहिले त्यही भएर भारतले रिपोर्ट बुझ्न नमानेको उहाँको दाबी छ ।
‘चुच्चे नक्शा पास गरेर राखेपछि सीमाको विषयमा त अब कुरै हुँदैन भनेको छ । त्यो (एसडी मुनिको पुस्तकमा उल्लेखित) भारतकै भाषा हो,’ उहाँले भन्नुभयो ।

राजदुत नियुक्तिको मापदण्डबारे सोच्नुपर्ने बेला भयो

राजदुतका लागि अध्ययन, अनुभव र राष्ट्रप्रेम अपरिहार्य रहेको प्रसँग दोहो¥याउँदै आचार्य भारतले भाजपाका सदस्य नरहेका एस जयशंकरलाई राजदुत बनाउँदा उनको अध्ययन र अनुभवका आधारमा बनाएको स्मरण गरे । ‘हाम्रोमा त्यो छैन । त्यो छलफल हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

राजदुत हुने मान्छेले कुटनीतिका विषयमा कति लेखेको, पढेको अनि छापेको हेर्नुपर्ने उहाँले बताउनु भयो । संसदमा हुने सुनुवाइको सुझाव आफैंले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई दिएपनि अहिले सुनुवाइमा सोधिने प्रश्न उपयुक्त नभएको उहाँले तर्क गर्नुभयो ।

राजदुतहरुलाई आधारभुत रुपमा देशको परराष्ट्र नीति, जाने देश अनि राष्ट्रसंघमा हाम्रो र जाने देशको भोटिङ प्याट्रनको विषय सोधिनुपर्ने उहाँले बताउनु भयो । तर सुनुवाइमा सोधिनुपर्ने प्रश्न नै नसोधिने गरेको र राजदुत नियुक्तिपछि तालिम दिने चलन अन्यत्र भए पनि नेपालमा नभएको उनले दुखेसो गर्नुभयो ।

अहिलेका राजदुत तथा परराष्ट्रका अधिकारीमा अध्ययन गर्ने तथा लेख्ने प्रचलन नभएको भन्दै विगतमा यदुनाथ खनालको कुटनीतिको अवधिमा लेखेका सय लेखको ८ सय पेजको किताव रहेको स्मरण गर्नुभयो । ‘अधिकांश लेख सचिव, राजदुत भएको बेला पदमा लेखका हुन्,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार ११:३८