५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

९ फागुन, रामपुर । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाल्पाले तयारी थालेको छ । कार्यालय अहिले मतदाता नामावलीको अध्यावधिकमा जुटेको छ ।

कार्यालयले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको परिचयपत्र सहितको नामावलीको अन्तिम टुङ्गो लगाउने छ । यही फागुन १९ गतेसम्म जिल्लाका दश पालिकाका ८१ वडाका मतदाता नामावली प्रकाशित गरी सूचना पाटीमा टाँस गर्ने, वडा–वडाबाट फागुन २० देखि २२ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेको गल्ती सच्चाउन सिफारिस पठाउने निर्वाचन कार्यालयले जनाएको छ ।

फागुन २३ गतेसम्म प्रकाशित मतदाता नामावलीमा रहेका व्यक्तिको बसाइँसराइ, मृत्यु भएमा वा नेपाली नागरिकता त्याग गरेको भए हटाउन जिल्ला निर्वाचन कार्यालयमा वडाबाट सिफारिस गर्ने, मतदाता नामावलीविरुद्ध उजुरी परेका व्यक्तिलाई २४ गतेसम्म प्रमाणसहित सफाइको मौका दिने बताइएको छ ।

मतदाता नामावली विरुद्ध परेका उजुरीमाथि छानबिन गरी हटाइएका मतदाताको नाम कार्यालयको सूचना पाटीमा प्रकाशित गर्ने, फागुन २५ गते प्रमाणसहित उजुरीविरुद्ध परेका नामावलीको अन्तिम टुङ्गो लगाउने कार्यतालिका कार्यालयले सार्वजनिक गरेको छ ।

फागुन २५ गते सम्मको अवधिमा वडा–वडाबाट आएको अन्तिम नामावलीको विवरण पुनः रुजु गरी प्रकाशन गर्ने, २६ गते जिल्लामा तयार भएको मतदाता नामावलीको अन्तिम विवरण निर्वाचन आयोगमा पठाउने गरी काम भइरहेको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख विनोद घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : February 21, 2022 at 12:56 pm