५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सभामुखले बोलाएको सर्वदलीय बैठक सिंदरबारमा सुरु, एमालेद्धारा बैठक बहिष्कार

२ फागुन, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाल सहभागी छन् ।

बैठकमा माओवादीको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत सहभागी हुनुहुन्छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुख सापकोटाले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाएका थिए ।

बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बहिष्कार गरेको छ । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको एमालेको भनाइ छ । एमालेले सभामुखले बोलाएका अधिकांश बैठक बहिस्कार गर्ने गरेको छ । एमाले विभाजनमा सहयोगी भएको भन्दै एमालेले विरोध जनाइरहेको छ ।

प्रकाशित मिति : February 14, 2022 at 2:54 pm