जनतामा जाँदा हरिबिजोग हुने भएकाले परमादेशी गठबन्धन लुगलुग काँपिरहेको छः नेता थापा
१५ माघ, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापाले जनतामा (चुनाव)जाँदा हरिबिजोग हुनेर परमादेशी गठबन्धन लुगलुग काँपिरहेको बताएका छन । शनिबार बिहान सामाजिक सञ्जाल मार्फत उनले जनतामा जाँदा हरिविजाेग हुने निश्चित भएपछि पाँच दलीय गठबन्धन माघकाे सिरेटाेमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेको बताएका छन ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमित नेपाली भूभागमा बाटाे स्तराेन्नति गरिरहेकाे स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले बोल्दै पनि उनकै कम्फर्टेवल सरकार नेपालमा चुपचाप बसेको बताएका छन । थापाको टिप्पणी तल पढ्न सक्नुहुन्छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा अतिक्रमित नेपाली भूभागमा बाटाे स्तराेन्नति गरिरहेकाे स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले बाेल्छन्, उनकाे कम्फर्टेवल सरकार यहाँ सुनेकाे नसुन्यै गर्छ! चुपचाप र मस्त निद्रामा छ !
भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएका कारणले जयसिंह धामी महाकालीको भेलमा खसेर बेपत्ता भएकाे सात महिना भइसक्यो,तर कम्फर्टेवल सरकार बेखबर र माैन छ।
नागरिकले सिटामाेलसम्म किन्न पाएका छैनन्, तैपनि देशमा पाँच पार्टीको गठबन्धन सरकार छ ! अघिल्लो सरकारले बन्दाेबस्त गरिदिएकाे २४ लाख डाेज खाेप बेचेर सत्ताधारीहरूले हजम गरे, त्यसकाे खाेज र छानविन समेत गर्न चासाे छैन! नालायक सरकारका कारण विकास निर्माण ठप्पप्राय: छ, जिम्मेवारीबाेध कसैलाई भएन।
संविधान र कानुनबमोजिम स्थानीय तहकाे आवधिक चुनाव गर्नसम्म आनाकानी गरिरहेका छन्, तैपनि देशमा तिनकै सरकार छ, जाे जनादेश हाेइन, परमादेशकाे कृपाले मात्र बनेकाे हाे !
जनतामा जाँदा हरिविजाेग हुने निश्चित छ,अनि पानीसँग जुत्ता डराएसरी पाँच दल चुनावसँग माघकाे सिरेटाेमा नांगाभुतुङ्गा भुराहरू जसरी लुगलुग काँपिरहेका छन् !
अर्थतन्त्र काेल्याप्स हुने भीरकाे डिलमा पुगेकाे छ,तैपनि यिनलाई कुनै चिन्ता र मतलब छैन!
शेरबहादुर देउवा, पुषकमल दाहाल प्रचण्ड, माधव कु. नेपाल, उपेन्द्र यादव+बाबुराम भट्टराई र दुर्गादेवी पाैडेलकाे पञ्चभलाद्मी(!) गठबन्धनचाहिँ जारी छ ? किनभने, कालेकाले मिलेर खाउँ भाले भन्नेमा एकसूत्रीय सहमति भने कायम छ। विनाशकाले विपरित बुद्धि ?
शायद सर्वनाश पनि यस्तै मतिहीनहरूका कारणले नै हुन्छ!
प्रकाशित मिति : January 29, 2022 at 10:38 am









